ठेकेदार रकम लिएर फरार भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काइयो

ठेकेदार रकम लिएर फरार भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काइयो

रौतहट : रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ।

भारतीय ठेकेदार मोहम्मद नासिरमार्फत काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा  उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।  

इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार भारतको उत्तर प्रदेश मुरादाबादबाट ल्याइएका ती कामदार आगामी असारसम्मका लागि सम्झौता गरेर आएका थिए। तर, चार दिनअघि कामदारको रासन खर्च व्यवस्थापनका लागि भनेर सञ्चालकसँग भारतीय ६ लाख रुपैयाँ लिई गएका ठेकेदार नासिर एक्कासी सम्पर्कविहीन भएपछि कामदारहरू अलपत्र परेका थिए।

कामदार ल्याएर अलपत्र पारी फरार भएका भारतीय ठेकेदार नासिरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

असोज १९, २०८३ सोमबार १४:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।