बालेनको स्टाटसपछि गगनको कटाक्ष- व्हेन दे गो लो, वी गो हाई

बालेनको स्टाटसपछि गगनको कटाक्ष- व्हेन दे गो लो, वी गो हाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको विवादास्पद अभिव्यक्तिप्रति कडा कटाक्ष गरेका छन्।

१५औं महाधिवेशनको उद्घाटनपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीलाई लक्षित गर्दै थापाले नामै नलिई ‘तल्लो तहको राजनीति’ मा नओर्लिन भनेका हुन्।

बन्दसत्रमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘निकै तल्लो स्तरको’ संज्ञा दिए।

विश्वप्रसिद्ध भनाइ उद्धृत गर्दै उनले भने, ‘हिजोको हाम्रो सभापछि कस्तो विचार व्यक्त भयो, तपाईंहरूले सुन्नुभएकै होला। हामी पनि त्यो स्तरमा ओर्लिन सक्दैनौँ। अंग्रेजीमा एउटा भनाइ छ नि- ‘व्हेन दे गो लो, वी गो हाई’ (उनीहरू जति तल झर्छन्, हामी त्यति नै माथि उठ)। हामी त्यति तल झर्ने होइन, संयमित भएर अझ माथि जाने हो।’

के थियो प्रधानमन्त्री बालेनको अभिव्यक्ति?
आइतबार खुलामञ्चमा भएको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न दलका नेताहरूले वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका थिए।

त्यसलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका थिए- ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा खुलामञ्चबाट बसपार्क हटाएर त्यहाँ दूवो रोप्ने कार्यको सुरूवात भएको थियो।

प्रधानमन्त्रीको उक्त टिप्पणीलाई कांग्रेसका युवा नेताहरूले पदीय मर्यादाविपरीत र लज्जास्पद भनेका छन्।

सभापति गगन थापाको भाषण सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि त्यसलाई विषयान्तर गर्न र ‘सस्तो लोकप्रियता’ (अटेन्सन सिकिङ) का लागि प्रधानमन्त्रीले यस्तो स्टन्ट गरेको कांग्रेस नेताहरूको दाबी छ।

यसैबीच, सभापति थापाले कांग्रेस समाजमा द्वन्द्व बढाउने नभई सबैलाई जोड्ने ‘राष्ट्रिय शक्ति’ भएको बताए।

पहिचानको रक्षा र द्वन्द्वको अन्त्य कांग्रेसको मूल चरित्र भएको दाबी गर्दै उनले चुनाव हार्ने जोखिमका बीच पनि विगतमा कांग्रेसले नै निष्पक्ष निर्वाचन गराएर लोकतन्त्र जोगाएको स्मरण गराए।

असोज १९, २०८३ सोमबार १३:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।