कांग्रेस पदाधिकारी २४ सदस्यीय बनाउने प्रस्ताव : वरिष्ठ उपसभापति थपिने, सहमहामन्त्री मात्रै १५ जना

कांग्रेस पदाधिकारी २४ सदस्यीय बनाउने प्रस्ताव : वरिष्ठ उपसभापति थपिने, सहमहामन्त्री मात्रै १५ जना

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गरी केन्द्रीय पदाधिकारीको संख्या २४ पुर्याउने प्रस्ताव गरेको छ।

महाधिवेशनस्थल खुलामञ्चमा सोमबार बसेको विशेष महाधिवेशनबाट चुनिएको अन्तिम केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या बढाउने विधान संशोधन प्रस्ताव निर्णयार्थ बन्दसत्रमा लैजाने निर्णय गरेको हो।

यसअघि कांग्रेस विधानमा कोषाध्यक्षसहित १४ देखि १७ जनासम्म पदाधिकारी रहने अभ्यास थियो। नयाँ प्रस्ताव बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

जसमा सभापतिसहित एक जना वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, एक महिलासहित तीन महामन्त्री, समावेशी, खुला र मनोनीत गरी १५ जना सह-महामन्त्री एक जना मनोनीत कोषाध्यक्ष रहनेछन्।

संशोधित मस्यौदाअनुसार सहमहामन्त्रीको संख्या १५ पुर्याइनेछ।

महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस-आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा यस पटक नयाँ थपिएको ‘अल्पसंख्यक/अपाङ्गता भएका व्यक्ति’ बाट १/१ जना गरी नौ जना हुनेछन्।

यसअघि सहमहामन्त्रीमा खुला प्रतिस्पर्धा नहुने गरेकामा पहिलो पटक २ सिट खुला राखिएको छ भने सभापतिले एक महिलासहित ४ जना सहमहामन्त्री मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ।

यसैगरी, यसअघि २ जना मात्र निर्वाचित हुने महामन्त्री पदमा अब एक महिला अनिवार्यसहित ३ जना निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ। उपसभापतिमा पनि वरिष्ठसहित ४ जनाको व्यवस्था गरिएको छ।

केन्द्रीय समितिले अघि सारेको यो सांगठनिक संरचना जारी बन्दसत्रले अनुमोदन गरेपछि मंगलबार बिहान १० बजेदेखि सुरु हुने निर्वाचन प्रक्रियामा लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार नै थपिएका पदहरूमा उम्मेदवारी दर्ता खुला गरिने निर्वाचन समितिले जनाएको छ।

असोज १९, २०८३ सोमबार १३:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।