संसद् र पार्टी बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ - गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र फरक विचारका लागि खुला संवादको वातावरण नभएकाले सिङ्गो देशलाई नै 'खुलामञ्च'को अवधारणा आवश्यक रहेको बताए।
१० वर्षपछि खुलामञ्चमा आयोजना गरिएको महाधिवेशनको ऐतिहासिक महत्त्वबारे बोल्दै उनले खुलामञ्च केवल काठमाडौंको एउटा चौर मात्र नभई नेपाली राजनीतिक आन्दोलनको साझा अभिलेख र बहसको थलो भएको स्मरण गरे। बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले यहीँबाट राजनीतिक यात्रा अघि बढाएको प्रसङ्ग उल्लेख गर्दै थापाले यस थलोले मतभेद र फरक विचारलाई एउटै मञ्चमा ल्याएर संवाद गराउन सिकाएको बताए।
"खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन, यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्," उनले थपे, "खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ।"
संसद्को वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै थापाले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संसद्मा सम्मानपूर्वक उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने र बन्द नै रहने दाबी गरे। "खुला मञ्च त संसद्मा चाहिएको छ, तर दुर्भाग्य अहिले संसद् खुला छैन, बन्द छ। जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ," उनले भने।
थापाका अनुसार सिंहदरबार, संसद्, पहाडदेखि तराईसम्म र सामाजिक सञ्जालजस्ता विद्युतीय माध्यमसम्म खुला संवादको वातावरण हुनुपर्छ। सामाजिक सञ्जाललाई गालीगलौजको सट्टा तथ्य र तर्कपूर्ण बहसको थलो बनाउनुपर्नेमा उनले जोड दिए।
यसैगरी, पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै उनले नेतामाथि प्रश्न उठाएकै भरमा कारबाही हुने वा सदस्यता गुम्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए। "पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ, पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, प्रश्नलाई स्वागत गर्ने खुला मञ्च चाहिएको छ," थापाले भने।
संसद् र दलहरू आन्तरिक रूपमा संकुचित भइरहेका बेला नागरिकले निर्धक्क आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने लोकतान्त्रिक संस्कारको पुनःस्थापना हुनुपर्ने उनको भनाइ थियो।
असोज १८, २०८३ आइतबार १८:३०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।