भारतमा नोएडाको ४१ औं तलाबाट हाम फालेर एक युवकको मृत्यु
एजेन्सी : भारतको नोएडास्थित सेक्टर–९४ को सुपरनोभा स्पाइरा सोसाइटीको ४१औँ तलाबाट हाम फाल्दा गुरुग्रामका २९ वर्षीय एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार उनी आर्थिक समस्याका कारण मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानमामा खुलेको छ।
गुरुग्रामको मानेसरका सम्भव जैन केही दिनअघि घरबाट निस्किएका थिए। विभिन्न स्थानका होटलमा बसेपछि उनी शुक्रबार दिउँसो करिब ३ बजे सुपरनोभा स्पाइरा सोसाइटीको एउटा अपार्टमेन्टमा एयरबीएनबीमार्फत बसेका थिए।
शनिबार बिहान करिब ११ बजे ती युवक बार्दली (बाल्कोनी) पार गरेर बाहिरी घेरामा हिँडिरहेको अवस्थामा नजिकैको अर्को बार्दलीमा काम गरिरहेका एसी प्राविधिकले देखेका थिए। प्राविधिकले उनलाई रोक्ने प्रयास गर्दा ती युवकले आफू गहिरो तनावमा रहेको बताएका थिए। प्राविधिक र उनका साथी उनलाई बचाउन कोठातर्फ दगुर्दै गर्दा उनले ४१ औं तलाबाट हाम फालिसकेका थिए।
घटनाको जानकारी पाएलगत्तै सेक्टर १२६ प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। सेक्टर–१२६ प्रहरी चौकीका इन्चार्ज सुमनेश कुमारका अनुसार प्रारम्भिक अनुसन्धानमा युवक केही आर्थिक समस्याका कारण तनावमा रहेको खुलेको छ। प्रहरीका अनुसार उनी घटनाभन्दा करिब तीन दिनअघि घरबाट निस्किएर विभिन्न स्थानका होटलमा बसेका थिए।
"प्राविधिक अनुसन्धानबाट मृतक शुक्रबार दिउँसो करिब ३ बजे एयरबीएनबीमा चेक-इन गरेको खुलेको छ। उनी तीन दिनअघि घरबाट निस्किएर विभिन्न स्थानका होटलमा बस्दै नोएडा आइपुगेका थिए,"सेक्टर १२६ का प्रहरी निरीक्षक सुमनेश कुमारले भने।
अनुसन्धानका क्रममा प्रहरीले मृतक र उनका बुबाबीच भएको कुराकानीसमेत फेला पारेको जनाएको छ। उक्त कुराकानीमा आर्थिक विषयलाई लिएर छलफल भएको र उनका बुबाले उनलाई घर फर्किन बारम्बार आग्रह गरे पनि उनले अस्वीकार गरेको च्याटबाट खुलेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
असोज १७, २०८३ शनिबार १७:२६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।