डा. विज्ञानको उपचार अनुभव : ‘एकै दिन पाँच जनाको हातको शल्यक्रिया गर्नुपर्दाको त्यो चुनौती अझै सम्झन्छु’
काठमाडौं : डा. विज्ञान लामिछाने ‘जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन’ (एमडीजीपीईएम) विशेषज्ञ चिकित्सक हुन्। सबै प्रकृतिका स्वास्थ्य समस्याको प्रारम्भिक तथा आकस्मिक उपचार गर्ने यो विधाका चिकित्सकलाई सरकारले योजनाबद्ध रूपमा जिल्ला र पालिका तहसम्म खटाउन सके न्यून खर्चमै करिब ८० प्रतिशत स्वास्थ्य समस्या स्थानीय तहमै समाधान हुनेसक्ने उनको अनुभव छ। सुगमदेखि दुर्गमसम्म सेवा दिएका उनै डा. विज्ञानले चिकित्सकीय यात्राका क्रममा देखे-भोगेका अनुभव उकेरासँग यसरी साटेका छन्:
तेस्रो सिजेरियन गर्दा गर्दाको त्यो अनुभव
डा. विज्ञान एक गर्भवती महिलाको ज्यान बचाएको प्रसंग अझै बिर्सेका छैनन्। करिब सात वर्षअघि उनी एमबीबीएस अध्ययन पूरा गरी दोलखाको चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहँदा तीव्र प्रसव पीडा भएकी करिब २५ वर्षीया महिलालाई स्वास्थ्य केन्द्रमा ल्याइयो।
यसअघि पनि उनले दुवै सन्तान शल्यक्रिया (सिजरियन सेक्सन) मार्फत नै जन्माएकी थिइन्। त्यसैले तेस्रो सन्तान पनि शल्यक्रियाबाटै जन्माउनुपर्ने अवस्था थियो।
डा. विनोद दंगाल नेतृत्वको चिकित्सक टिमले ती महिलाको शल्यक्रिया गर्ने तयारी गर्यो, जसमा डा. विज्ञान पनि संलग्न थिए। चिकित्सक टिमले तत्काल शल्यक्रिया गरेर शिशुलाई सकुशल निकाल्यो। शिशुको स्वास्थ्य राम्रो थियो, तर शल्यक्रियाको क्रममा महिलाको अत्यधिक रक्तस्राव भयो।
हर प्रयास गर्दा पनि रक्तस्राव नियन्त्रणमा आउन सकेन। अवस्था जटिल बन्दै गएपछि रक्तस्राव रोक्न चिकित्सकहरूसँग एउटा मात्र विकल्प बाँकी रह्यो- पाठेघर नै निकाल्ने!
चिकित्सक टिमले यही निर्णय लिँदै परिवारका सदस्यहरूसँग परामर्श गर्यो। सम्झाई बुझाइ गरेपछि महिलाको ज्यान बचाउन परिवार पाठेघर निकाल्न सहमत भयो।
परिवारको सहमति पाए लगत्तै चिकित्सक टिमले शल्यक्रिया गरेर महिलाको पाठेघर निकाल्यो। त्यसपछि रक्तस्राव नियन्त्रणमा आयो। महिलाको अवस्था सामान्य बन्दै गएपछि उनलाई पोस्ट-अपरेटिभ वार्ड हुँदै सामान्य वार्डमा सारियो। महिलाको स्वास्थ्यमा सुधार आयो र केही दिनको अस्पताल बसाइपछि उनी शिशुसहित घर फर्किइन्।
आमा र शिशुको ज्यान बचाउन गर्नुपरेको त्यो सङ्घर्ष डा. विज्ञान आज पनि सम्झिन्छन्। तर, उनको मनमा भने एउटा कुरा खेलिरहन्छ- ती महिला अस्पतालसम्म आइपुगेकीले बाँच्न सफल भइन्, तर अस्पतालसम्म पुग्न नसकेर अझै कति महिलाको अकालमै मृत्यु भएको होला!
एकै दिन पाँच जनाको हातको शल्यक्रिया गर्दाको अनुभव
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा ‘जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन’ (एमडीजीपी) तेस्रो वर्षमा अध्ययनरत रहँदा करिब दुई वर्षअघि डा. विज्ञान तीन महिना ग्रामीण समुदायमा गएर सेवा दिनुपर्ने प्रावधानअनुसार आवासीय चिकित्सकका रूपमा अछामस्थित बयलपाटा अस्पताल पुगे।
एक दिन उनी अस्पतालको ड्युटीमा रहेका बेला लडेर हात भाँचिएका पाँच जना बिरामी एकै पटक अस्पताल आइपुगे। बाजुरा र डोटीका विभिन्न दुर्गम भेगबाट आएका ती घाइतेमध्ये चार जना ९ देखि ३० वर्ष उमेर समूहका थिए भने एक जना करिब ४५ वर्षीया महिला थिइन्। निकै टाढाबाट कष्टपूर्वक अस्पताल पुगेका उनीहरू सबैको हातको शल्यक्रिया तत्काल गर्नुपर्ने अवस्था थियो।
तर, त्यस दिन अस्पतालमा अन्य कुनै विशेषज्ञ चिकित्सक उपस्थित थिएनन्। एमडीजीपीइएम अध्ययनरत डा. विज्ञान मात्र विशेषज्ञ तहका आवासीय चिकित्सक थिए भने बाँकी सबै एमबीबीएस उत्तीर्ण मेडिकल अधिकृतहरू थिए। उनी दोधारमा परे।
त्यस्तो अवस्थामा बिरामीलाई अन्यत्र ‘रिफर’ गर्दा थप सास्ती, समय र आर्थिक भार पर्ने जोखिम थियो। यता आफैँले शल्यक्रिया गर्दा सम्भावित जटिलताको जोखिम उत्तिकै थियो। अन्ततः डा. विज्ञानले जोखिम रहे पनि अस्पतालमै उपचार गर्ने निर्णय लिए। उनको निर्णयमा ड्युटीमा रहेका अन्य मेडिकल अधिकृतहरूले पनि साथ दिए।
डा. विज्ञानले मेडिकल अधिकृतहरूको सहयोगमा एकपछि अर्को गर्दै पाँचै जनाको हातको सफल शल्यक्रिया गरे। दिनभरको प्रयासपछि सबै बिरामीको शल्यक्रिया सफल भयो र उनीहरूले अन्यत्र भौँतारिनु परेन।
स्रोत-साधन र आवश्यक जनशक्तिको अभावबीच दुर्गममा सेवा दिँदा चिकित्सकले भोग्नुपर्ने चुनौतीलाई डा. विज्ञानले त्यो दिन महसुस गरे। बयलपाटा अस्पतालको तीन महिने बसाइ पूरा गरी पोखरा फर्किए पनि एकै दिन पाँच बिरामीको शल्यक्रिया गर्दाको दबाब र सफलता उनको स्मृतिमा अझै ताजै छ।
जग्गा बेचेर एमबीबीएस अध्ययन
२०५१ मा कास्कीको पोखरा (हालको मादी गाउँपालिका-११) मा जन्मिएका विज्ञान सानैदेखि पढाइमा लगनशील थिए। उनले पोखराकै नदीपुरस्थित श्री सत्य साई विद्याश्रमबाट २०६५ सालमा उत्कृष्ट अङ्कसहित एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनले पोखराकै एसओएस हर्मन ग्मिनर कलेजबाट प्लस टु पूरा गरे।
विज्ञानको बाल्यकालदेखिकै सपना डाक्टर बन्ने थियो, जसमा परिवारको पनि पूर्ण साथ र हौसला रह्यो। एमबीबीएस अध्ययनको प्रवेश परीक्षामा छनोट भए पनि उनले छात्रवृत्ति पाउन सकेनन्। चिकित्सा शास्त्रको विषय छात्रवृत्तिमा अध्ययन गर्न पाउनु निक्कै चुनौती हुन्छ।
अर्को वर्षको छात्रवृत्तिका लागि फेरि प्रयास गरेर समय पर्खिनुभन्दा उनी सोही वर्ष अध्ययन अघि बढाउने सोचमा पुगे। छात्रवृत्ति नपाए पनि छोरालाई जसरी पनि डाक्टर बनाउने अठोटका साथ उनका बुवाले पारिवारिक जग्गा बेचेर खर्च जुटाउने निर्णय गरे।
त्यही पैसाले विज्ञान सन् २०१२ मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस भर्ना भए। सन् २०१७ मा इन्टर्नसिपसहित एमबीबीएस पूरा गरेपछि उनले करिब तीन महिना मणिपालकै न्युरोसर्जरी विभागमा करारमा जागिरे बने।
त्यसपछि उनी मेडिकल अधिकृतका रूपमा दोलखाको चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगे। त्यहाँ कार्यरत ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’ विशेषज्ञ डा. विनोद दंगालको मार्गदर्शन र सहयोग उनका लागि प्रेरणादायी बन्यो।
दुर्गम गाउँका विपन्न र जटिल बिरामीको उपचारमा खटिन ‘एमडिजीपीइए’ (जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन) विषय सबैभन्दा बढी प्रभावकारी हुने पाठ उनले चरिकोट बसाइमै सिके। त्यही अनुभवले उनलाई भविष्यमा एमडिजीपीइएम नै अध्ययन गर्ने स्पष्ट लक्ष्य दियो।
पूर्ण छात्रवृत्तिमा छनोटमा दुर्गमको विधा
डा. विज्ञानलाई तत्कालै थप अध्ययन गरिहाल्ने हुटहुटी थियो। त्यसैले चरिकोटमा करिब एक वर्ष काम गरेपछि उनले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्ययनका लागि तयारी गरेर छनोट परीक्षा दिए। उनी छनोट मात्रै भएनन्, सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गर्ने मौका पाए।
अनि छनोट भएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सस) मा सन् २०२१ मा भर्ना भएर ‘जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (एमडिजीपीइएम)’ विषय अध्ययन गर्न थाले। उनले सन् सन् २०२४ तीन वर्षे ‘एमडिजीपीइएम’ अध्ययन सके। छोटकरीमा यो विषयलाई ‘एमडिजिपी’ समेत भनिन्छ।
डा. विज्ञानले सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेका हुनाले सरकारले खटाएको स्वास्थ्य संस्थामा पुगेर दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले उनी छात्रवृत्ति करारमा काम गर्नका लागि पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पताल पुगे। त्यहाँ दुई वर्ष छात्रवृत्ति करार चिकित्सकको काम सक्ने बित्तिकै उनी सरकारी जागिरमा प्रवेश गरिहाले।
डा. विज्ञान दुई महिना अघि मात्रै गण्डकी प्रदेशको लोकसेवा परीक्षामार्फत नवौं तहको मेडिकल जनरलिष्ट तथा एमडिजीपीइएम विशेषज्ञ चिकित्सकका रूपमा सरकारी स्थायी जागिरे भए। सरकारी जागिरे भएपछि हाल उनी पोष्टिङ भएर बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पताल पुगेर दुई महिनायता काम गरिरहेका छन्।
एमडीजिपीलाई प्राथमिकता दिँदा दुर्गमका बिरामीको उपचारमा सहज
एमडीजिपीइएम विशेषज्ञ चिकित्सकले सबै किसिमका बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नुपर्ने हुन्छ। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरुमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि उपचार गर्नुपर्ने हुन्छ।
त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सककहाँ बिरामी रिफर गर्नु एमडीजिपीइएम अध्ययन गरेका चिकित्सकको दैनिकी हो। उनको चिकित्सकीय विषय पनि यही नै हो।
त्यसैले बागलुङको बुर्तिबाङ अस्पतालको विशेषगरी आकस्मिक कक्षमा खटिएर अस्पताल पुगेका बिरामीलाई सन्चो बनाउने कोशिस गर्नु उनको मुख्य जिम्मेवारी हो। त्यसैगरी रोगको प्रकृति तथा बिरामीको अवस्था अनुसार थप विशेषज्ञ चिकित्सक आवश्यक परे बिरामीलाई अन्यत्र रिफर गर्छन्।
डा. विज्ञान एमडिजिपीइएमलाई बहु आयामिक विषयका रूपमा लिन्छन्। प्राथमिक तथा आकस्मिक उपचार गर्नुपर्ने र आर्थिक विपन्नता भएका व्यक्तिका लागि यो चिकित्सकीय विषय अध्ययन गरेका चिकित्सक अत्यन्तै उपयोगी हुने उनले सुनाए। सरकारले योजना बनाएर स्थानीय तहमा एमडिजिपी विशेषज्ञ चिकित्सक खटाउन सके करिब ८० प्रतिशत स्वास्थ्य समस्या न्यून खर्चमै समाधान हुने अनुभव डा. विज्ञानले अनुभव सुनाए।
अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता विकसित मुलुकमा एमडिजिपीइएम अध्ययन गरेका विशेषज्ञ चिकित्सकले बिरामी जाँचेपछि मात्रै रेफर बिरामीलाई अन्य विशेषज्ञ तहका विशेषज्ञ चिकित्सककहाँ पठाउने उनले सुनाए। त्यसैले यो विषयका विशेषज्ञ चिकित्सकको व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने देखिएको डा. विज्ञानको अनुभव छ।
मंसिर १२, २०८३ शनिबार १८:१२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।