हिमपातका कारण हुम्लाको लिमीमा रोकिएका तीन जर्मन नागरिकको हेलिकप्टरबाट उद्धार
हुम्ला : केही दिनअघि परेको अविरल वर्षासँगै भारी हिमपात भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीस्थित हल्जी गाउँमा रोकिएका तीन जना जर्मन पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
लिमी उपत्यका भ्रमणका लागि गएका जर्मन नागरिकहरू फाबियन उर्लिख, जोनास उर्लिख र विल्हेल्म उर्लिखको बिहीबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
अविरल वर्षासँगै असोज ९ देखि ११ गतेसम्म परेको हिमपातले सडकमा बाक्लो हिउँ जमेर आवतजावत पूर्ण रूपमा अवरुद्ध भएपछि उनीहरू हल्जी गाउँमै रोकिएका थिए।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार सिम्रिक एयरको ‘९ एन–एकेडी’ हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। उनीहरुलाई हल्जीबाट उद्धार गरेर सिमकोट विमानस्थलमा अवतरण गराई थप गन्तव्यका लागि सुर्खेत पठाइएको छ।
असोज १५, २०८३ बिहीबार १८:१६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।