अकुत सम्पत्ति आर्जनको अभियोगमा नापीका सर्भेक्षक श्रेष्ठविरुद्ध मुद्दा

अकुत सम्पत्ति आर्जनको अभियोगमा नापीका सर्भेक्षक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौं : नापी कार्यालय कलंकीका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध चार करोड ७४ लाखभन्दा बढी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ।

सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको तथा अमिल्दो र अस्वाभाविक जीवनस्तर देखिएपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो। 

श्रेष्ठ सेवा प्रवेश गरेको मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि निर्धारण गरी आय-व्ययको विश्लेषण गरिएको थियो। त्यस अवधिमा पारिश्रमिक, भत्ता, जग्गा तथा सवारीसाधन बिक्री, घरजग्गा बहाल, छोरीको पारिश्रमिक, बिमा परिपक्व, ऋण सापटी र बैंक ब्याजसमेत गरी श्रेष्ठ परिवारको कुल वैधानिक आय सात करोड ७५ लाख ७८ हजार रहेको अख्तियारले जनायो। 

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सेयर तथा सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, ऋण भुक्तानी र बैंक मौज्दातसहित श्रेष्ठ परिवारको कुल खर्च तथा लगानी १२ करोड ५० लाख पुगेको देखियो। कुल खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा चार करोड ७४ लाख ४६ हजारको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि आयोगले सोही रकम बराबर बिगो कायम गरी मुद्दा दर्ता गर्यो। 

साथै, श्रेष्ठले आयोगमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिभन्दा बढाई तथा मौजुदा सम्पत्ति लुकाई-छिपाई झुट्टा विवरण दिएको समेत भेटिएको आयोगले जनाएको छ। श्रेष्ठविरुद्ध अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोबमोजिम जरिवाना, कैद, गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत र झुट्टा विवरण पेस गरेबापत थप कैद तथा जरिवानाको मागदाबी गरेको छ। 

यसैगरी, गैरकानुनी रूपमा आर्जित स्रोत नखुल्ने रकमबाट खरिद गरिएका एकल तथा संयुक्त नामका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती कमला श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

असोज १५, २०८३ बिहीबार १७:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।