अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण : सर्वसाधारण मारिएको तालिबानको दाबी, पाकिस्तान भन्छ- ‘२२ आतङ्कवादी मारिए’

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण : सर्वसाधारण मारिएको तालिबानको दाबी, पाकिस्तान भन्छ- ‘२२ आतङ्कवादी मारिए’

काबुल : पाकिस्तानले अफगानिस्तानका दुई प्रान्तमा रातभर हवाई आक्रमण गरेको छ।

दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा भएको यस आक्रमणमा हताहतीको विषयलाई लिएर दुवै देशले परस्पर विरोधी दाबी गरेका छन्।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाउँदा ९ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

आक्रमणबाट तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको जनाउँदै तालिबानले यसलाई अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घन भनी निन्दा गरेको छ।

यता, पाकिस्तानले भने आतङ्कवादी शिविर र उनीहरू लुकेका स्थानलाई लक्षित गरी गरिएको सुनियोजित कारबाहीमा २२ जना आतङ्कवादी मारिएको दाबी गरेको छ।

कारबाहीका क्रममा ठूलो परिमाणमा हतियार तथा गोलाबारुद नष्ट गरिएको र सर्वसाधारणको क्षति रोक्न अधिकतम सावधानी अपनाइएको पाकिस्तानको भनाइ छ।

दुवै पक्षका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। पाकिस्तानले आफ्नो भूमिमा आक्रमण गर्न ‘तेहरीक-ए-तालिबान पाकिस्तान’ (टिटिपी) ले अफगान भूमिको प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ।

तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ। सीमापार तनावका कारण यस वर्ष मात्रै सीमा क्षेत्रमा १ हजार १ सयभन्दा बढी अफगान नागरिक हताहत भइसकेका छन्।

असोज १५, २०८३ बिहीबार १२:०७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।