बुटवलमा साढे दुई लाख पुरस्कार राशिको 'नेपाल साइबरसिल्ड-२०२६' प्रतियोगिता हुँदै

बुटवलमा साढे दुई लाख पुरस्कार राशिको 'नेपाल साइबरसिल्ड-२०२६' प्रतियोगिता हुँदै

बुटवल : साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी र युवालाई लक्षित गर्दै बुटवलमा ‘नेपाल साइबरसिल्ड-२०२६’ प्रतियोगिता आयोजना हुने भएको छ।

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको आयोजनामा सञ्चालन हुन लागेको यस प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ।

सुरक्षित डिजिटल समाज निर्माण र युवाको प्राविधिक क्षमता प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ।

पहिलो चरणको छनोट प्रतियोगिता असोज १७ गते अनलाइन माध्यमबाट हुनेछ। यस चरणमा सहभागीले साइबर सुरक्षासम्बन्धी विभिन्न  प्राविधिक चुनौती समाधान गर्दै अंक प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने १० टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणको प्रतियोगिता आगामी कात्तिकमा बुटवलमा आयोजना गरिने आयोजकले जनाएको छ। अन्तिम चरणमा सहभागी टोलीले आफ्नो प्रणाली सुरक्षित राख्दै प्रतिस्पर्धी टोलीका प्रणालीमा रहेका कमजोरी पहिचान तथा चुनौती समाधान गर्नुपर्नेछ ।

प्रतियोगितामा एक वा दुईदेखि चार जनासम्मको टोली बनाएर सहभागी हुन सकिने कार्यक्रम संयोजक सन्देश आचार्यले जानकारी दिए। 

इच्छुक सहभागीले रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।

यस प्रकारका प्रतिस्पर्धाले सहभागीहरूको तार्किक सोच, समस्या समाधान गर्ने क्षमता र व्यावहारिक प्राविधिक सीपको अभिवृद्धि गर्ने विश्वास आयोजकको रहेको छ।

असोज १४, २०८३ बुधबार १७:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।