‘दही भल्ली’देखि ‘महाकुत्तेश्वर’सम्म मैदानमा, दिल्लीमा ‘मोटो’ कुकुर छान्न मतपेटिकै राखेर चुनाव

‘दही भल्ली’देखि ‘महाकुत्तेश्वर’सम्म मैदानमा, दिल्लीमा ‘मोटो’ कुकुर छान्न मतपेटिकै राखेर चुनाव

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा यतिबेला एउटा अनौठो चुनावी सरगर्मी छ। कुनै राजनीतिक दल वा नेताका लागि नभई सहरकै सबैभन्दा ‘मोटो’ कुकुर चुन्नका लागि हजारौँ मानिसहरू मतदान र प्रचारप्रसारमा होमिएका छन्।

इन्स्टाग्राम पेज ‘फ्याट डग्स अफ दिल्ली’ले रमाइलोका लागि सुरु गरेको यो नकआउट प्रतियोगिता अहिले रोचक प्रतिस्पर्धामा परिणत भएको छ।

सुरुमा दिल्लीका विभिन्न गल्ली र चोकमा बस्ने ६४ वटा ‘मोटा’ सडक कुकुरहरूलाई प्रतिस्पर्धामा सामेल गरिएको थियो। विभिन्न चरणको अनलाइन भोटिङपछि अहिले ८ वटा कुकुर उपाधिको अन्तिम दौडमा छन्।

बुधबार हुने फाइनलका लागि अनलाइन मात्र नभई दिल्लीका तीन स्थानमा स्वयंसेवक खटाएर भौतिक रूपमै ‘ब्यालेट बक्स’ राखेर मतदान गराउने तयारी गरिएको छ।

रोचक नाम र आक्रामक प्रचार
प्रतिस्पर्धामा रहेका कुकुरहरूको कुनै निश्चित मालिक छैनन्। गल्लीका बासिन्दा, पसले र कामदारहरूले नै उनीहरूलाई खाना खुवाउने, रेखदेख गर्ने र अनौठा नाम राखिदिएका छन्।

प्रतियोगितामा सहभागी कुकुरहरूको नाम पनि उत्तिकै रोचक छ। कसैको नाम भारतीय परिकारबाट ‘दही भल्ली’ राखिएको छ भने कसैको धार्मिक नाम जोडेर ‘महाकुत्तेश्वर’ राखिएको छ। त्यस्तै ‘गुगु’, ‘रामबाबु’ र ‘कुत्ता सिंह’ जस्ता नाम भएका कुकुरहरू पनि चुनावी मैदानमा छन्।

उम्मेदवार कुकुरहरूका समर्थकहरूले चुनावी पोस्टर, भिडियो र ‘मिम्स’ बनाएर सामाजिक सञ्जालमा भोट मागिरहेका छन्। यो चुनावी माहोल दिल्लीमा मात्र सीमित नभई कोलकाता र केरलासम्मका मानिसहरूले समेत आ-आफ्ना मनपर्ने कुकुरलाई समर्थन गर्दै प्रचार गरिरहेका छन्।

फाइनलमा पुगेको ४६ किलो तौल भएको ‘गुगु’ नामको कुकुर अहिले दिल्लीको एउटा सेन्टरमा तौल घटाउने प्रक्रियामा छ। तर, समर्थकहरूले उसलाई ‘सर्वकालीन महान’ अर्थात जीओएटी (गोट) भन्दै व्यापक प्रचार गरिरहेका छन्।

प्रतियोगिता चलिरहँदा दुईवटा कुकुरको मृत्युसमेत भएको थियो, जसमा हजारौँ समर्थकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोटोपनको आलोचना र सडक कुकुरको बहस
प्रतियोगिता चर्चित भए पनि सामाजिक सञ्जालमा यसको आलोचना पनि सुरु भएको छ। कतिपयले कुकुरको मोटोपनलाई उत्सवको रूपमा मनाउँदा जनावरको स्वास्थ्यमा जोखिम बढ्ने र अत्यधिक खाना खुवाउने गलत प्रवृत्तिले प्रश्रय पाउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

दिल्लीमा सडक कुकुरहरूको व्यवस्थापनलाई लिएर गम्भीर बहस चलिरहेको बेला यो प्रतियोगिता भइरहेको छ। दिल्ली र आसपासका क्षेत्रमा करिब १० लाख सडक कुकुर रहेको अनुमान छ।

एकातिर कुकुरले टोक्ने र रेबिज फैलिने त्रास छ भने अर्कोतिर पशुअधिकारको मुद्दा जोडिएको छ। गत वर्ष भारतको सर्वोच्च अदालतले सडक कुकुरलाई आश्रयस्थलमा सार्न आदेश दिए पनि पछि खोप लगाएर स्थानीय क्षेत्रमै फर्काउन सकिने गरी आदेश सच्याएको थियो।

आयोजकहरूले भने यो अभियानले दिल्लीवासीको कुकुरप्रतिको माया र आत्मीयतालाई उजागर गरेको दाबी गरेका छन्। अप्रत्याशित रूपमा बढेको लोकप्रियतालाई अब सडक कुकुरहरूको कल्याण र उद्धारका लागि आर्थिक सहयोग जुटाउन उपयोग गर्ने आयोजकको योजना छ।

बुधबार हुने अन्तिम मतदानपछि दिल्लीले आधिकारिक रूपमै राजधानीको ‘सबैभन्दा मोटो कुकुर’ पाउनेछ।

असोज १४, २०८३ बुधबार १३:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।