महाकाली नदीको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवागमन पूर्ण रूपमा अवरुद्ध
महेन्द्रनगर : महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुलको पिल्लरमा क्षति भएपछि सो मार्ग भएर हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर रावतका अनुसार पिल्लर भाँचिएर बाटो अवरुद्ध भएलगत्तै सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। पुलको करिब छ मिटर भाग तत्काल मर्मत गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
“झोलुङ्गे पुलको दोधारातर्फको पाँच/छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ”, प्रवक्ता रावतले भने, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ।
भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताए। “आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो”, उनले भने, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ।”
दुईदशकअघि झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो।
असोज १४, २०८३ बुधबार १०:४४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।