मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी एक्साभेटरले खोल्न थालियो, चट्टान फुटाउन विस्फोट गराउने तयारी

मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी एक्साभेटरले खोल्न थालियो, चट्टान फुटाउन विस्फोट गराउने तयारी

मनाङ : अविरल वर्षापछि गत आइतबार घट्टेखोलाबाट लेदोसहित आएको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।

नदी थुनिएर बनेको तालको पानी निकासका लागि एक्साभेटरलगायतका उपकरण प्रयोग गरी काम थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

“धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उनले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ। यसका लागि तयारी पनि भइरहेको छ।”

नदीले पुलमाथिबाटै धार परिवर्तन गर्दा आसपासका केही घर डुबानमा परेका छन्। स्थानीय उपलब्ध स्रोत र साधनको प्रयोग गरी नदीलाई पुरानै लयमा फर्काउन सकिए प्रभावित बासिन्दालाई छिट्टै घर फर्काउन सकिने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।

“विस्फोट गराइ चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ”, उनले भने, “एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ।”

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुङ्गाले मर्स्याङ्दी नदी थुनिएको हो। वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उनको भनाइ छ ।

यसैबीच, बाढी र पहिरोका कारण सो क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।

ङिस्याङ गाउँपालिका–४ हुम्देका बस्तीहरूमा बाढी र हिलो पसेको छ भने सब्जे खोला लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो।

असोज १३, २०८३ मंगलबार १३:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।