रामेछापमा पात टिप्न गएकी २५ वर्षीया युवती खोला किनारमा मृत फेला

रामेछापमा पात टिप्न गएकी २५ वर्षीया युवती खोला किनारमा मृत फेला

मन्थली : रामेछापको खाँडादेवी गाउँपालिका-४ चनौटेबाट पात टिप्न भनी घरबाट निस्किएकी २५ वर्षीया युवती मृत फेला परेकी छन्।

२५ वर्षीया इन्दिरा कार्की असोज ११ गते बिहान ९ बजे घरबाट डोको-नाम्लो बोकेर पात टिप्न भनी हिँडेकी थिइन्। साँझसम्म पनि उनी घर नफर्किएपछि आफन्तले असोज १२ गते बिहान इलाका प्रहरी कार्यालय चोप्राङमा खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक दावा तेन्जी शेर्पाको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोली र स्थानीयले खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा घरदेखि करिब २ किलोमिटर पूर्व केउरेनी खोला किनारमा कार्कीको डोको, नाम्लो, मोबाइल र चप्पल फेला परेको थियो।

त्यसभन्दा करिब साढे २ किलोमिटर तल मन्थली नगरपालिका-७ चित्रेघट्टोस्थित भटौरी खोला किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक कार्कीले केही समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन्।

घटनास्थलको मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको थियो।

अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि आइतबार अपराह्न शव उनका बुबा रत्नबहादुर कार्कीको जिम्मा लगाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज १३, २०८३ मंगलबार ०९:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।