लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, एक हजार २८० जना विस्थापित

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, एक हजार २८० जना विस्थापित

बुटवल : लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन्। प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

विपद्का कारण प्रदेशभर एक हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ। यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। १६ वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन्।

केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन्। पहिरोमा परी पाँच जनाको मृत्यु र एक जना घाइते भएका छन्। पहिरोका कारण ४८० जना विस्थापित भएका छन्। यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने एक सय घर जोखिममा रहेका छन्।

डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन्। डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन्। ७० घर जोखिममा रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका छन्। हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन्।

जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका छन्। त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन्।

मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ। पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ। विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका छन्। गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। 

विपद्का कारण प्रदेशभर अनुमानित ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ। दाङमा २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ। नवलपरासीमा पाँच लाख ६० हजार, बर्दियामा पाँच लाख ५७ हजार क्षति भएको छ।

विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। ६ वटा गोठ पूर्ण र चार वटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशु चौपाया क्षति भएका छन्। बाढीका कारण दाङ, गुल्मी र रुकुम पूर्वमा एक/एक वटा पुलमा क्षति पुगेको छ।

त्यस्तै, दाङ, रुकुम पूर्व र रुपन्देहीमा एक/एक वटा विद्यालय क्षतिग्रस्त भएका छन्। बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुम पूर्व र रुपन्देहीमा एक/एक वटा उद्योगमा क्षति पुगेको छ। अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको छ। पाल्पामा दुई वटा सवारी साधनमा समेत क्षति भएको छ।

असोज १२, २०८३ सोमबार १९:३९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।