सचिन तेन्दुलकरका दुई ठूला रेकर्ड तोडेपछि विराट कोहलीले के भने?

सचिन तेन्दुलकरका दुई ठूला रेकर्ड तोडेपछि विराट कोहलीले के भने?

एजेन्सी : सन् २०२७ को एकदिवसीय (ओडिआई) विश्वकप नजिकिँदै गर्दा भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहली उत्कृष्ट लयमा देखिएका छन्। आइतबार वेस्टइन्डिजविरुद्धको तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा कोहलीले मात्र ८८ बलमा अविजित १३९ रनको विष्फोटक पारि खेल्दै भारतलाई आठ विकेटको सानदार जित दिलाए।   

ग्रीनफिल्ड इन्टरनेसनल स्टेडियममा २९६ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले मात्र ४० बलमा आफ्नो ८०औँ अर्धशतक पूरा गरे भने अल्जारी जोसेफको बलमा चौका प्रहार गर्दै ओडिआई क्रिकेटमा १५ हजार रन पूरा गरे। यो उपलब्धि हासिल गर्ने उनी क्रिकेट इतिहासमै सचिन तेन्दुलकरपछिका दोस्रो ब्याटर बने।   

यसै खेलमा कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ५५औँ शतकसमेत पूरा गरेका छन्।

तोडिए तेन्दुलकरका दुई ठूला रेकर्ड

कोहलीले १५ हजार एकदिवसीय रन पूरा गर्ने क्रममा सचिनको सबैभन्दा छिटो रन बनाउने कीर्तिमान पनि तोडे। तेन्दुलकरले ३७७ इनिङ्समा यो आँकडा बनाएका थिए भने कोहलीले मात्र ३०३ इनिङ्समा यो सफलता हासिल गरे।

त्यस्तै, कोहलीले भारतमा खेलिएका एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने सचिनको कीर्तिमानसमेत तोडे। सचिनले भारतमा १६४ एकदिवसीय खेलमा ६ हजार ९७६ रन बनाएका थिए। यो रेकर्ड तोड्न ११० रनको आवश्यकता रहेकोमा १३९ रनको अविजित पारि खेल्दै कोहले उक्त कीर्तिमान आफ्नो नाममा बनाए।

५५औँ ओडिआई शतक र १०० अन्तर्राष्ट्रिय शतकको चर्चा

कोहलीले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ५०औँ शतक प्रहार गर्दै तेन्दुलकरको ४९ ओडिआई शतकको रेकर्ड तोडेका थिए। हाल ५५ ओडिआई शतकसहित उनको कुल अन्तर्राष्ट्रिय शतक संख्या ८६ पुगेको छ।

कोहली लामो समयदेखि सचिनको अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतकको कीर्तिमान नजिक पुगिरहेका छन्। उनी अहिले एकदिवसीय क्रिकेटमा मात्र खेलिरहेका छन्। आगामी महिना ३८ वर्ष पुग्न लागेका कोहलीले सचिनको ‘शतकको शतक’ पूरा गर्ने सम्भावना रहेको चर्चा अझै हुँदै आएको छ।

तर, कोहलीले भने आफूलाई यस्ता तुलनामा केन्द्रित नगरेको स्पष्ट पारेका छन्। उनले सचिनले क्रिकेटमा छोडेको प्रभाव तथ्यांक र तुलनाभन्दा धेरै माथि रहेको बताएका छन्। 

"मेरो लागि सचिन पाजी सधैँ सचिन पाजी नै रहनुहुनेछ। पहिलो कप्तानको रूपमा एमएस धोनी सधैँ एमएस धोनी नै रहनुहुनेछ। यी कुराहरू मेरो भित्री मनबाट कहिल्यै बदलिने छैनन्," कोहलीले भने, "मैले आफूलाई कहिल्यै ठूलो उपलब्धि हासिल गरिसकेको व्यक्तिको रूपमा हेरेको छैन। खेलकुदमा अहङ्कारको दृष्टिकोणबाट 'म अरूभन्दा उत्कृष्ट हुँ' भन्ने ठाउँमा पुग्न सकिँदैन, किनकि त्यो नै अन्त्य हो। उहाँले आफ्नो समयमा खेलमा क्रान्ति ल्याउनुभयो। र मेरो लागि त्यो तथ्यांक र तुलनाभन्दा धेरै माथिको कुरा हो।” 

प्रशंसकहरूले क्रिकेट र मैदानको प्रदर्शनका आधारमा टाढाबाट बनाएको छवि र आफूले स्वयंलाई हेर्ने दृष्टिकोण फरक रहेको पनि कोहलीले बताए।

"देशका लागि मैले गरेको योगदानलाई माया गर्ने र प्रशंसा गर्ने प्रशंसकहरू जब मलाई भेट्छन्, उनीहरूको एउटा निश्चित दृष्टिकोण हुन्छ। तर म उनीहरूको त्यो दृष्टिकोण पूर्ण रूपमा बुझ्न सक्दिनँ। म उनीहरूले सोचेजस्तो मान्छे होइन, किनकि उनीहरूले मलाई टाढाबाट, मेरो खेल र प्रदर्शनका आधारमा मात्र चिन्छन्। म कहाँबाट आएको हुँ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ र मानिस आफ्नो वास्तविक पहिचानबाट कहिल्यै अलग हुन सक्दैन। अरूले मलाई जुन लेन्सबाट हेर्छन्, म आफूलाई त्यसरी हेर्दिनँ," उनले भने।

असोज १२, २०८३ सोमबार १९:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।