अक्टोबर २ मा मुम्बईमा 'जेल भरो आन्दोलन' गर्ने कक्रोच जनता पार्टीको घोषणा

अक्टोबर २ मा मुम्बईमा 'जेल भरो आन्दोलन' गर्ने कक्रोच जनता पार्टीको घोषणा

एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले मुम्बईमा आगामी अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका छन्।​​​​​​​

दीपकेले सामाजिक सञ्जाल 'एक्स' मा सोमबार एक पोस्ट गर्दै अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा सीजेपीले 'जेल भरो आन्दोलन' गर्ने जानकारी दिएका हुन्।

दिपकेले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मुम्बईमा जेल भरो आन्दोलन। अक्टोबर २, शिवाजी पार्क।”

दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई समेत दोहोर्याएका छन्।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रदर्शन गर्ने र उनको राजीनामा माग्ने योजना बनाएको छ। साथै, मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) तत्काल रोक्न तथा निर्वाचन आयोगसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन गर्न पनि सीजेपीले माग गर्दै आएको छ।

मुम्बई प्रहरीले भने बम्बई उच्च अदालतको फैसला र त्यसपछिका महाराष्ट्र सरकारका आदेशहरूलाई उद्धृत गर्दै शिवाजी पार्कमा कुनै पनि सभा आयोजना गर्न अनुमति दिने अधिकार आफूसँग नरहेको जनाएको छ। यस्तै प्रहरीले शिवाजी पार्क क्षेत्रमा ध्वनि प्रदूषण, ट्राफिक जाम तथा आवतजावतमा अवरोध हुनसक्ने भन्दै आयोजकहरूलाई वैकल्पिक स्थान खोज्न सल्लाह दिएको छ।  

तर दिपकेले यसअघिनै प्रदर्शनको अनुमति अस्वीकार गरिएको विषयमा आपत्ति जनाउँदै नागरिकको आवाज दबाउन यस्ता उपाय अपनाउनु स्वीकार्य नहुने बताएका थिए। त्यसलगत्तै उनले अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका हुन्।

उक्त आन्दोलन मतदाता नामावलीसम्बन्धी निर्णय तथा एसआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। निर्वाचन आयोगको आन्तरिक कामकारबाहीमा मतभेद देखिएको भन्ने आरोपहरू उठिरहेका बेला आयोगले भने आफ्नो कामकारबाहीमा कुनै अवरोध वा संस्थागत संकट नरहेको स्पष्ट पारेको छ।

निर्वाचन आयोगले संस्थागत छलफलका क्रममा फरक–फरक धारणा आउनु स्वाभाविक भएको बताउँदै प्रमुख निर्णयहरू सर्वसम्मत रूपमा भएको दाबी गरेको छ।

असोज १२, २०८३ सोमबार १६:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।