दशैँ, तिहार र छठमा यात्रुलाई सहज बनाउन प्रहरीले प्रमुख नाकामा 'नागरिक सहायता कक्ष' राख्ने
काठमाडौं : नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलमा प्रहरीले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो।
बैठकमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला यात्रु ठगिने तथा सवारी दुर्घटना हुने जोखिम न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिने बताए।
उनले भने, "आगामी दशैं, तिहार र छठलाई लक्षित गरेर प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्दैछौँ। यात्रुबाट बढी भाडा लिने, टिकट नदिने, एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने लगायतका गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था हुन्छ। यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको टोली परिचालन हुन्छ। साथै, बढी सवारी चाप हुने कलंकी–नागढुंगा क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरेर यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउनेछौँ।"
उनका अनुसार विगतमा पनि विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। यसपटक पनि लामो, मध्यम र छोटो दूरीका यात्रुलाई लक्षित गरी सहायता कक्ष सञ्चालन गरिनेछ।
सहायता कक्षबाट यात्रुले तोकिएभन्दा बढी भाडा लिएको, टिकट नदिएको वा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गरेको लगायतका गुनासो तत्काल सम्बोधन गरिने शाहले बताए। "बढी भाडा लिएको भए सम्बन्धित यात्रुलाई बोलाएर समस्या तत्काल समाधान गर्ने हिसाबले नागरिक यात्रु सहायता कक्ष स्थापना हुन्छ," उनले भने।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी रहेको शाहले जानकारी दिए।
उनका अनुसार टिकट बुकिङ खुला भएपछि टिकट काट्ने व्यक्तिको परिचयपत्र, सम्बन्धित यातायात समिति र टिकट काट्ने कर्मचारी आबद्ध संस्थाको विवरण स्पष्ट भए ट्राफिक प्रहरीलाई अनुगमन तथा कारबाहीमा सहज हुनेछ।
चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ‘रुट’ अनुसार नै सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। अपरिचित रुटमा चलाउँदा सडकको अवस्था र घुम्तीहरूबारे जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले विगतको 'क्यु-फ्री' प्रणालीलाई व्यवस्थित गर्दै चालकलाई आफ्नै रुटमा मात्र गाडी चलाउन दिने रणनीति प्रहरीले बनाएको छ।
साथै, दशैँ सुरु हुनुभन्दा केही दिन अघिदेखि अत्यधिक सवारी चाप हुने कलङ्की–नागढुङ्गा सडकखण्डमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने प्रहरीले जनाएको छ।
असोज १२, २०८३ सोमबार १४:०७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।