टेकु पुगेको मानव अधिकार आयोगको टोलीलाई चोलेन्द्र भेट्न रोक, कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण
काठमाडौं : पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरिएको घटनाबारे बुझ्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले रोक लगाएकोमा आयोगले आपत्ति जनाएको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
आयोगका अनुसार राणालाई पक्राउ गरिएको घटनाबारे बुझ्न प्रहरी परिसर टेकु पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई प्रहरीले राणासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको थियो। प्रहरीको उच्च नेतृत्वसँग छलफल गर्दा कुन कारणले अनुगमन गर्न नदिइएको हो भन्ने विषयमा आयोगको टोलीलाई कुनै जानकारी नदिइएको विज्ञप्तिमा उल्लेख छ।
सोबारे आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ।"
राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) ले सार्वजनिक तथा अन्य संस्थाको निरीक्षण एवं अनुगमन गर्ने र मानवअधिकार संरक्षणका लागि सुझाव तथा निर्देशन दिन सक्ने अधिकार दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै, संवैधानिक दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीहरूलाई कानूनी दायरामा ल्याउन र आयोगको अधिकारको सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
"अत: निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ," आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
असोज ११, २०८३ आइतबार १८:२१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।