नारायणीको जलसतह खतराको तहभन्दा माथि, चितवन-नवलपुर जोड्ने पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नारायणीको जलसतह खतराको तहभन्दा माथि, चितवन-नवलपुर जोड्ने पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी : नारायणी नदीमा पानीको सतह खतराको तह नाघेसँगै सम्भावित जोखिमलाई ध्यानमा राखी चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ठूला सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ।

नदीको बहाव उच्च भई पुरानो पुल अत्यधिक हल्लिएपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन जोड्ने पूर्व-पश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जोखिम न्यूनीकरणका लागि हाल केवल मोटरसाइकललाई मात्र आउजाउ गर्न दिइएको छ। अन्य सवारीसाधनहरूलाई नवलपुरतर्फ गैँडाकोट र चितवनतर्फ नारायणघाटमै रोकिएको छ।

आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए। 

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिए। 

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो २:१० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९४ मिटर पुगेको थियो। देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ।

नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ। पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए। केन्द्रमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतावनीको तह र नौ मिटरलाई खतराको तह मानिन्छ। 

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्। 

असोज ११, २०८३ आइतबार १६:५६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।