पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई परिवारको जिम्मा लगाइयो
काठमाडौं : पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई परिवारको जिम्मा लगाइएको छ।
शनिबार मध्यरात घरबाटै पक्राउ परेका राणालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। "अहिले उहाँलाई थ्रेट नदेखिएकोले परिवारको जिम्मा लगाइएको हो," उनले भने।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्व प्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उनलाई सुरक्षा दिन ल्याइएको बताए।
“उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो। प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ”, खड्काले भने, “उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं।”
सुरक्षा खतरा ठहर भएपछि पूर्व प्रधानन्यायाधीश राणालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीको दाबी छ।
तर अदालती प्रक्रियामा रहेका विचाराधीन विषयमा चासो राख्दै बुढानीलकण्ठमा रहेको एक रिसोर्टमा निरन्तर शंकास्पद भेटघाटको सूची प्रधानमन्त्री वालेन्द्र शाहसम्म पुगेपछि शनिबार मध्यरात उनलाई बाँसबारीको घरबाटै नियन्त्रणमा लिइएको स्रोतले उकेरालाई बताएको छ।
असोज ११, २०८३ आइतबार १५:२४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।