अविरल वर्षा र हावाहुरीले मधेश प्रदेशमा जनजीवन प्रभावित : एकको मृत्यु, ३०० बढी घर डुबानमा

अविरल वर्षा र हावाहुरीले मधेश प्रदेशमा जनजीवन प्रभावित : एकको मृत्यु, ३०० बढी घर डुबानमा

जनकपुर : मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण  ठूलो क्षति पुग्नुका साथै जनजीवन कष्टकर बनेको छ। वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। 

बाढीका कारण प्रदेशभर तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। 

धनुषाको मिथिला नगरपालिका–११ अपागाछीमा पहिरो खस्दा राजन श्रेष्ठको घर पुरिएको छ। पहिरोले घर पुरिएपछि ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ। पहिरोमा पुरिएका परिवारका अन्य चार जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। घर पहिरोले पुरिएपछि उद्धारका लागि नेपाल प्रहरीको टोली तथा जेसीबी परिचालन गरिएको थियो।  

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा हावाहुरीका कारण कान्छी स्याङवोको एकतले टिनको छानो भएको घरको जस्तापाता उड्दा घरमा पूर्ण क्षति पुगेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन्। त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको प्रहरीले जनाएको छ।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको इँटाको गारो तथा खपटाको छाना भएको घरको पूर्वपट्टिको गारो र छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

रौतहटमा पनि वर्षाका कारण विभिन्न स्थानमा भौतिक क्षति भएको छ। राजपुर नगरपालिका–९ वैरियामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ भने कटहरिया नगरपालिका–१ भसेढवा टोलमा लक्ष्मण राय यादवको दुईतले कच्ची घर वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। 

त्यस्तै, मौलापुर नगरपालिका–४ पतौरामा भैँसीको गोठ तथा गरुडा नगरपालिका–८ गम्हरियामा एउटा घरसमेत वर्षाका कारण क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

सर्लाहीका विभिन्न स्थानमा पनि वर्षा र हावाहुरीले कच्ची घर, गोठ तथा अन्य संरचनामा क्षति पुर्याएको छ। विष्णु गाउँपालिका–५ फेन्हारा, मलंगवा नगरपालिका–५ भाडसर, कौडेना गाउँपालिकाका वडा नम्बर ३ र ६ तथा चन्द्रनगर गाउँपालिका–१ लगायतका क्षेत्रमा आंशिक तथा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।

महोत्तरीको मनरा शिसवा नगरपालिका–१ चौरिया टोलमा चन्द्रकाला मण्डलको बाँसले बनेको फुसको छानो भएको एककोठे घर भासिएपछि बस्न नसक्ने अवस्थामा पुगेको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी इकाइबाट टोली परिचालन गरिएको छ । प्रहरीले घटनास्थलमा उद्धार, क्षतिको विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ।

लगातारको वर्षा तथा हावाहुरीबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले माइकिङ, प्रहरी गस्ती तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

प्रहरीले नदी तथा खोलाको किनार, डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। विपद्को अवस्था सिर्जना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार विषम परिस्थितिमा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरी निरन्तर काम भइरहेको छ।

अविरल वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा क्षतिको विवरण संकलन तथा उद्धारको काम जारी रहेकाले थप क्षतिको विवरण आउन सक्ने प्रहरीले जनाएको छ। वर्षा अझै जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ।

असोज ११, २०८३ आइतबार १४:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।