कालीगण्डकीले पर्वतको फर्सेका २५ घर बगायो

कालीगण्डकीले पर्वतको फर्सेका २५ घर बगायो

काठमाडौं : कालीगण्डकी नदीमा पानीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ घर बगेका छन्।

आइतबार बिहान करिब ८ बजे नदीमा आएको भीषण बाढी बस्तीमा पसेपछि ठूलो भौतिक क्षति भएको हो। उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि कटानका कारण उच्च जोखिममा परेका छन्।

बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएको छैन। जोखिमलाई ध्यानमा राख्दै बस्तीका सबै स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

लगातारको वर्षा र विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ। उक्त प्रभावित क्षेत्र प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ। प्रहरीले उद्धार तथा राहतका लागि वैकल्पिक मार्गबाट घटनास्थलतर्फ जाने प्रयास गरिरहेको छ।

घटनाको पूर्ण क्षति र थप विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ।

असोज ११, २०८३ आइतबार ११:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।