अविरल वर्षाले जनजीवन अस्तव्यस्त; कतै बाढीपहिरो र डुबान त कतै कटान, कहाँ कस्तो छ अवस्था ?
काठमाडौं : देशका विभिन्न स्थानमा लगातार भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। नदीहरूमा पानीको बहाव खतराको तह नाघेको छ भने बाढी र पहिरोका कारण अधिकांश मुख्य राजमार्ग तथा सहायक सडकहरू अवरुद्ध भएका छन्।
विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका कारण भौतिक क्षति भएको छ भने सुरक्षाकर्मी तथा स्थानीय प्रशासनद्वारा जोखिमयुक्त क्षेत्रबाट नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। देशभर कहाँ, के-कस्ता घटना भए ? :
नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध : निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्। नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी खोलामा पहिरो खसेको छ। यसैगरी, पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ। हाल पहिरो पन्छाउने कार्य जारी छ।
कालीगण्डकीको बाढीले बगायो पाँच घर : कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से र लस्ती बजारका पाँच वटा घर बगाएको छ भने कैयौं घर जोखिममा परेका छन्। जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। गएरातिदेखि जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ।
नारायणीको बाढी बस्तीमा : नारायणी नदीको बहाव बढेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन्। गैँडाकोट नगरपालिका-२ स्थित बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरो खसेपछि सडक अवरुद्ध : लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा पहिरो खसेपछि आइतबार बिहानदेखि बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ। वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ।
त्यस्तै स्याङ्जामा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको हो। पुतलीबजार नगरपालिका-१ तीनधारे र वालिङ नगरपालिका-१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
साथै, कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको छ। भारी वर्षाका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन्। आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ।
बर्दियामा तीन घर क्षति : अविरल वर्षाका कारण बर्दियामा तीन घरमा क्षति पुगेको छ। बाँसगढी नगरपालिका-८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ। त्यसैगरी, मधुवन नगरपालिका-५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका-९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ। उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका-१ छेदापुर चोकमा पाँच वटा कच्ची घरमा पानी पसेको छ।
कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध : बिहीबार बेलुकादेखि शनिबार बिहानसम्म परेको वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। सुर्खेत-दैलेख-कालीकोट-बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत-दैलेख-कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका-१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका-७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ।
त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको भने सल्यानकै बनगाड कुपिण्डे नगरपालिका-८ को र्यालेमा गएको पहिरोले सुर्खेत-सल्यान र त्रिवेणी गाउँपालिका-३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम-कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन्।
त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका-४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका-१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका-१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका-७ र ८ पिनास्थित गमगढी-नाग्म सडकखण्ड पनि बन्द भएको छ। सडक सञ्चालनका लागि पहिरो पन्छाउने काम भइरहेको छ।
बुटवलमा पाँच घर बगे : लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले गए राति बुटवल उपमहानगरपालिका-११, टप मजुवामा पाँच घर बगाएको छ। बाढीको जोखिममा परेका तटीय क्षेत्रका ९०० भन्दा बढी बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको छ। लगातार वर्षा भएसँगै राति नदीमा बाढीको सतह बढेर बस्तीमा पसेको थियो।
नारायणी नदीमा आएको बाढीले पार गर्यो खतराको तह : अविरल वर्षाका कारण नारायणी नदीको बहाव खतराको तह (९.० मिटर) पार गरी करिब ११.० मिटर पुगेको छ र यो अझै बढ्दो क्रममा छ। आइतबार दिनको ११ बजे आसपास जलसतह बढेर करिब १३.० मिटरसम्म पुग्न सक्ने पूर्वानुमान छ। बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। नारायणीका प्रमुख सहायक नदीहरूमा समेत बहाव बढेको छ।
असोज ११, २०८३ आइतबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।