नारायणीमा खतराको तहभन्दा २ मिटर माथि पुग्यो बाढी, डुबान क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह
काठमाडौं : अविरल वर्षाका कारण नारायणी नदीको बहाव खतराको तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
आइतबार बिहान पौने ८ बजे विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
बुलेटिनअनुसार देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह खतराको तह (९.० मिटर) पार गरी करिब ११.० मिटर पुगेको छ र यो अझै बढ्दो क्रममा छ। आइतबार दिनको ११ बजे आसपास जलसतह बढेर करिब १३.० मिटरसम्म पुग्न सक्ने पूर्वानुमान छ।
नदीमा बहाव दिउँसोसम्म बढ्ने क्रममा रहने र साँझसम्मै जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। नारायणीका प्रमुख सहायक नदीहरूमा समेत बहाव बढेको छ।
महाशाखाका अनुसार कालीगण्डकी नदीमा बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। यसैगरी सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेर बढ्दो क्रममा रहेको छ भने बुढीगण्डकी र त्रिशूली नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ।
उच्च बहावका कारण चितवन र नवलपरासी जिल्लाअन्तर्गत नारायणी नदी आसपासका होचा भूभाग, नदी किनार तथा कमजोर तटबन्ध भएका क्षेत्रमा बाढी र डुबानको जोखिम उच्च रहेको छ।
महाशाखाले नारायणी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल तथा तटबन्धजस्ता जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने निर्देशन पालना गर्न अनुरोध गरेको छ।
असोज ११, २०८३ आइतबार ०९:०४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।