तिनाउको बाढीले बुटवलमा बगायो पाँच घर

तिनाउको बाढीले बुटवलमा बगायो पाँच घर

बुटवल : लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले गए राति बुटवल उपमहानगरपालिका-११, टप मजुवामा पाँच घर बगाएको छ। 

बाढीको उच्च जोखिममा परेका तटीय क्षेत्रका ९०० भन्दा बढी बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको छ। लगातार वर्षा भएसँगै राति नदीमा बाढीको सतह बढेर बस्तीमा पसेको थियो। 

तिनाउ तटीय क्षेत्रका जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका स्थानीय बासिन्दालाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। 

बुटवल उपमहानगर- ११ मा बाढीका कारण टप मजुवा, बुद्धनगर, शिवालय टोल, सिर्जना नगर, तिलोत्तमा टोल, हात्तीसुँढ, सत्यवती टोल, युद्धनगर र दुर्गानगर प्रभावित भएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए। 

हाल बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई तत्कालका लागि स्थानीय कान्ति माध्यमिक विद्यालयमा सुरक्षित स्थानान्तरण गरी राखिएको छ। उनीहरूको खाना तथा बस्ने व्यवस्थाका लागि दैवी प्रकोप उद्धार कोषबाट बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

थप राहत तथा आवश्यक व्यवस्थापनका सम्बन्धमा बुटवल उपमहानगरपालिकाको बैठक बसी निर्णय लिइने क्षेत्रीले बताए। खोलाको नजिक तथा बगर क्षेत्रमै बस्ती भएका कारण यी क्षेत्रहरू बर्सेनि बाढीको जोखिममा पर्दै आएका छन्। विगत वर्षहरूमा पनि टप मजुवा र बुद्धनगर क्षेत्रमा बाढीले घरहरूमा क्षति पुर्याएको थियो।

वडाध्यक्ष क्षेत्रीले नदी किनारमै घर भएकाले सामान्य तटबन्धनले मात्र जोखिम नटर्ने बताए। सरकारको करिडोर निर्माणको अवधारणाअनुसार बजेट कार्यान्वयन गरी तटबन्धन, सडक निर्माण तथा व्यवस्थित बसोबासको प्रबन्ध नगरिएसम्म बाढीको समस्या स्थायी समाधान नहुन उनको भनाइ छ।

असोज ११, २०८३ आइतबार ०८:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।