पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति
म्याग्दी : पछिल्लो तीन दिनदेखिको निरन्तर वर्षासँगैको बाढीपहिरोका कारण म्याग्दीमा १९ घरमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शनिबार साँझसम्म पहिरोका कारण १९ घरमा क्षति पुगेको जानकारी दिए।
उनका अनुसार पाँच वटा गोठ भत्किँदा तीन वटा भैँसी मरेका छन् भने अट्ठाइस घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जनाएको छ। मङ्गला गाउँपालिका-२ रनवाङका तीन र सात परिवारका १३ जनालाई स्थानान्तरण गरिएको छ।
रनवाङमा दुई घरमा क्षति पुगेको छ। मङ्गला-५ को घेगरेमा छ घरपरिवारलाई आमा समूहको भवनमा राखिएको छ। अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा दुई घर भत्किएको र एक भैँसी पुरिएको छ भने दुई घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
वडा नं ८ राम्चेको धारापानी क्षेत्रमा पहिरा जाँदा चार घरपरिवार जोखिममा परेका छन्। मालिका गाउँपालिका-५ मा एक गोठमा क्षति र एक घर जोखिममा परेको छ।
बेनी नगरपालिका-१ रत्नेचौरमा एक/एक घर भत्किएको र जोखिम तथा दुई घर विस्थापित भएका छन्। वडा नं २ बालडाँडामा पहिरोले दुई घर, एक गोठ र दुई भैँसीको क्षति भएको छ भने दुई वटा घर स्थानान्तरण भएका छन्।
वडा नं ३ भकिम्लीमा पहिरोका कारण सात वटा घर, तीन वटा गोठ र दुई वटा भैँसीको क्षति भएको छ। सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। बेनी नगरपालिका-४ ज्याम डाँडाखेतमा क्षति पुगेका चार घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ।
प्राकृतिक उपचार स्थल तातोपानी कुण्डको भवनमा पहिरोले क्षति गरेको छ। बेनी नगरपालिका-५ चिप्लेटीमा एक घर क्षति भएको छ। वडा नं ६ अर्थुङ्गेमा चार घर जोखिममा परेका छन्। रघुगङ्गा गाउँपालिका-६ पाखापानी बस्तीमा पाखोबाट भलबाढी पसेर क्षति पुगेको छ।
म्याग्दीको मुख्य बेनी-जोमसोम, बेनी-दरबाङ र बेनी पाखापानी सडक पहिरो, कटान र बाढीका कारण अवरुद्ध भएका सहायक प्रजिअ आचार्यले बताए। वर्षात् रोकिएपछि स्थानीय तह, बेनी-जोमसोम-कोरला सडक योजना र पूर्वाधार विकास कार्यालयमार्फत अवरुद्ध सडक मर्मत गरिने प्रशासनले जनाएको छ।
असोज १०, २०८३ शनिबार २१:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।