लगातारको वर्षा : देशभरका नदीहरूमा निगरानी तीव्र, कटान रोक्न आपत्कालीन टोली परिचालन
काठमाडौं : लगातारको वर्षाका कारण देशका प्रमुख नदीहरूमा जलसतह बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तटीय क्षेत्रको अनुगमन र आपत्कालीन सतर्कता बढाएको छ।
मन्त्रालयका अनुसार स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी आपत्कालीन बाढी नियन्त्रणका लागि आवश्यक सामग्रीसहित प्राविधिक टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ।
सल्यानको कालिमाटी गाउँपालिका–२ स्थित शारदा नदीमा जलसतह उल्लेख्य रूपमा बढिरहेको मन्त्रालयले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
झापाको गौरीगन्ज गाउँपालिका–१ स्थित कन्काई नदीमा तटबन्धको पुछारतर्फ भइरहेको कटान रोक्न सुरक्षाकर्मीको सहयोगमा बालुवाका बोरा राख्ने काम भइरहेको छ। मन्त्रालयका अनुसार उक्त स्थानमा नदीको जलसतह भने घट्दो क्रममा छ।
रौतहटको राजपुर नगरपालिकास्थित भगवानपुरमा लालबकैया नदीको बायाँ किनार बालुवाका बोरासहितको तारजाली प्रयोग गरी संरक्षण गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका–१ स्थित गौरेश्वर मन्दिर नजिक नारायणी नदीमा यसअघि गरिएको आपत्कालीन कार्य क्षेत्र डुबानमा परेको छ। उक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चितवनको भरतपुर–१६ सेतीदेवी र भरतपुर–१७ माझुवास्थित नारायणी नदीका अति जोखिमयुक्त स्थानमा उल्लेख्य कटान भएको छैन।
झापाको झापा गाउँपालिका–२ स्थित कन्काई नदीमा साउन १० गते गरिएको पूर्वतयारी कार्य प्रभावकारी देखिएको छ । उक्त क्षेत्रमा नदीको जलसतह चेतावनी तहभन्दा तल रहेको मन्त्रालयले जनाएको छ।
दाङको लमही नगरपालिका–४ सेमरहवा तथा राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित पश्चिम राप्ती नदीमा तटबन्ध र स्पर सुरक्षित रहेको तथा जलसतहमा उल्लेख्य वृद्धि नभएको मन्त्रालयले जनाएको छ।
दाङको घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुरस्थित बबई नदीको जलसतह सामान्यभन्दा केही माथि रहे पनि नवनिर्मित ग्याबियन संरचना सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, दाङको भालुवाङ पुलस्थित पश्चिम राप्ती, प्युठानको चाकचाकेस्थित माडी नदी तथा भेरी नदीको रिम्ना दोभानभन्दा तलको क्षेत्रमा अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नदी किनार तथा तटबन्ध आसपास कटान भइरहेको क्षेत्रमा नजान र जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्वसूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बाढी तथा नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राविधिक कर्मचारी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्थानीय तह तथा स्थानीय बासिन्दाको समन्वयमा आवश्यक तयारी र अनुगमन जारी रहेको मन्त्रालयले जनाएको छ ।
असोज १०, २०८३ शनिबार ११:०१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।