झिँगे दाउ २ : आँचल र कुशलको त्रिपट अभिनयले चौपट

झिँगे दाउ २ : आँचल र कुशलको त्रिपट अभिनयले चौपट

यदि एउटा खुट्टामा राम्रो जुत्ता छ र अर्कोमा काँडा छिरेको वा च्यात्तिएको जुत्ता पर्यो भने त्यो लगाउनेको हालत के होला? पाइलापिच्छे पीडा र सास्ती हैन त? अहिले हलमा चलिरहेको फिल्म ‘झिँगे दाउ २’ मा कलाकारको अभिनय हेर्ने हो भने हालत यस्तै देखियो।

पारिवारिक कथालाई फिल्मको फ्रेममा ढालेर हलमा दर्शक तान्न सफल निर्देशक ज्ञानेन्द्र देउजाको ‘झिँगे दाउ’ को प्रयोग सफल भयो। मुख्यतः सामाजिक सञ्जालमा फैलिएको देउरानी र जेठानीको झगडाका क्लिपले दर्शकलाई हलसम्म पुर्याउन राम्रै सहयोग गरेको थियो।

हल पुगेका दर्शक निराश नहुँदा फिल्म व्यवसायीक रूपमा सफल पनि भयो। सायद त्यही ब्रान्डमा अर्को फिल्म थप्दा पनि दर्शकबाट उस्तै माया पाइने आशमा देउजाले झिँगे दाउ-२ बनाए। तर कास्टिङमा नमज्जाले चुक्दा दर्शकका लागि फिल्म उही काँडा पसेको जुत्ताझैँ बिझाउने बनिदियो।

फिल्ममा दाजुको अभिनय बलियो छ तर कान्छा भाइको अभिनय पटक्कै जमेको छैन। जेठानीको अभिनय प्राकृतिक देखिँदा देउरानीको अभिनय क्यारेक्टर भन्दा लाउड देखिन्छ। यही अभिनयको सन्तुलन नमिल्दा दुई घण्टा ३० मिनेट दर्शकलाई सिटमा अड्याउन निर्देशक देउजालाई निकै हम्मे परेको छ। 

यद्यपि, क्लाइमेक्सले भने फिल्मको लाज जोगाएको छ। कथा वाचनका क्रममा निर्देशकले दर्शकलाई अनावश्यक अल्झाएका त छैनन्, तर मध्यान्तर अगाडि दर्शकको ध्यान खिच्न फिल्म चुकेको छ। अन्त्यमा दर्शकलाई भावुक बनाउँदै अहिले नेपाली फिल्ममा चलेको दर्शक रुवाउने अभ्यासमा उनी केही हदसम्म सफल देखिन्छन्।

कथासार

घरमा छोराबुहारीको कलह र सधैँको झगडाबाट बिरक्तिएकी खदाल्नी बजै (हिउँवाला गौतम) घर छाडेर हिँड्छिन्। दसैँको समयमा जेठा छोराबुहारी (महेश त्रिपाठी र केकी अधिकारी) र कान्छा छोराबुहारी (कौशल विष्ट र आँचल शर्मा) बिच ‘झिँगे दाउ’ खेल्दा उत्पन्न विवादले तहल्कै मच्चिन्छ। 

यसैको रिसिइबीले देउरानी र जेठानीबीच लडाइँ पर्छ र दाजुभाइबीच पनि फाटो आउँछ। उनीहरू घरको आँगनमा बार लगाएर आ-आफ्नो काम गर्न थाल्छन्। तर उनीहरूको रडाको रोकिन्न।

आमालाई हेला गरेको र दैनिक झगडाबाट आजित भएका गाउँलेहरूले मुखिया लम्साल बा (विजय देउजा) को रोहबरमा छलफल गराउँछन्। लम्साल बाले "आमा खोजेर जसले ल्याएर पाल्छ, यो रुख उसैको हुन्छ" भन्ने सर्त राख्दिन्छन्। 

सम्पत्तिको लोभमा उनीहरू आमा खोज्न निस्किन्छन्। उनीहरूले आमा फेला पार्छन् त? फेला पारे रुख कसको हुन्छ? फिल्मको मूल कथा यसैमा लुकेको छ।

सबल पक्ष

२५–३० वर्षअघिको कथालाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसायोग्य छ। अर्थात् फिल्मको पिरियड सेटिङ र मेकिङ ठिक लयमा देखिन्छ।

त्यतिबेलाको काठमाडौँको दृश्य, प्रहरीको बर्दी, टेलिफोन, उजुरी लेख्ने शैली र झाँक्रीले ओखती दिने जस्ता उपचार पद्धतिले त्यो कालखण्डलाई जीवन्त बनाएको छ।

फिल्मको ब्याकग्राउन्ड स्कोर झर्कोलाग्दो छैन। विष्णु सापकोटा (रिट्ठे गाइने) ले गाएको प्रचारप्रसारसम्बन्धी गीतले फिल्मलाई थप बलियो बनाएको छ। अन्त्यतिर बजेको ‘समय बलवान् छ’ गीतले दर्शकलाई भावुक बनाउँछ।

आमाको खोजीका क्रममा हिँडेका छोराहरूलाई भावुक पाटोमा पुर्याउन निर्देशकले राम्रै मिहेनत गरेका छन्।

कमजोरी

फिल्मको सबैभन्दा ठुलो कमजोरी नै कलाकारको अभिनयको गुणस्तर देखियो। एउटा सक्कली अर्को ट्वाक्कै डमी जस्तो देखिँदा फिल्म नै खल्लोखल्लो भएको छ।

भाइको भूमिकामा रहेका कुशल बिष्टको अभिनय चरित्र अनुसार पटक्कै जमेको छैन। भावुक दृश्यमा पनि उनी भाव शून्य देखिएका छन्। आँचल शर्मा चरित्रबाट बहकिएर निकै लाउड देखिएकी छिन्।

रुखको फेदमा देउरानी शौच गर्न बस्दा झाडी देखिन्छ, तर जेठानीले घाँस झारेको देखेर उनीहरू लड्दै गर्दा त्यो ठाउँ अचानक चिल्लो र सफा देखिन्छ। त्यस्तै, ट्याक्सीलाई लात हान्दा जुत्ता उछिट्टिने तर जुत्ता नै नलिई हिँड्ने जस्ता दृश्यले निर्देशकको छलकपट र लापरबाही स्पष्टै देखिन्छ।

कथा आमाको खोजीमा तीव्र गतिमा अघि बढिरहेका बेला मध्यान्तरपछि अचानक आउने ‘धागो चर्खाको’ गीतले कथाको प्रवाहलाई बिगार्छ। न यो गीतको फिल्मको कथासँग कुनै सम्बन्ध नै देखाउँछ।

अन्त्यमा,  ‘झिँगे दाउ २’ मा देउजाले पारिवारिक कथामा सफल फिल्म निर्माणको आफ्नो विरासत जोगाउने प्रयास त गरेका छन् तर पात्र चयनमा चिप्लिँदा यो फिल्मले झिँगे दाउको साख जोगाउन सकेन। कुशल विष्टको त्रिपट अभिनय र आँचल शर्माको लाउडपनले गर्दा यो फिल्म समग्रमा चौपट भएको छ। झिँगे दाउको उचाइ छुने त परै जाओस्, यसले दर्शकलाई हलमा टिकाइराख्न निकै संघर्ष गर्नुपर्छ।

त्यसैले निर्देशक देउजाले 'झिँगे दाउ'मा थापेको च्याँखे झ्याप्पै पर्दा 'झिँगे दाउ-२' मार्फत यस पटक पना च्याँखे दाउ नै राखे तर परेन। 

असोज ९, २०८३ शुक्रबार १९:५३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।