दोभान बजारमा बिहीबार भएको आगलागीमा १४ करोड ५६ लाखको क्षति
ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। दोभान बजारमा आगलागी भएको यो दोस्रो घटना हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरू जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपैयाँ मूल्य बराबरको क्षति भयो।
प्रहरी निरीक्षक यादवका अनुसार आगलागीबाट पसलका सामानहरू र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको छ। उनका अनुसार पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्यांकनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको हो।
प्रहरीका अनुसार लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो। उक्त आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन्।
दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो। त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो भने करिब ४० करोड रुपैयाँ बढी क्षति हुन पुगेको थियो।
असोज ९, २०८३ शुक्रबार १९:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।