दिनभरको झरीले उर्लिए काठमाडौंका 'खोला' (तस्बिरहरू)

दिनभरको झरीले उर्लिए काठमाडौंका 'खोला' (तस्बिरहरू)

काठमाडौं : अविरल वर्षाका कारण शुक्रबार दिउँसो काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित सबैजसो नदी तथा खोलाहरूमा बाढीको बहाव उच्च भयो। नदीहरूमा बाढीको सतह बढेपछि तटीय क्षेत्र तथा करिडोर आसपासका बस्तीहरू डुबानको जोखिममा परे।

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश भू-भागमा अहिले पनि पानी परिरहेको छ। शुक्रबार दिउँसो बागमती नदीले थापाथली क्षेत्रमा सतर्कता तह पार गरेको थियो भने चोभारको जलविनायक क्षेत्रमा पनि पानीको बहाव तीव्र बनेको थियो।

बाढीको सतह बढेपछि ललितपुरको च्यासलस्थित बस्ती तथा एमालेको केन्द्रीय कार्यालय र बल्खुस्थित तरकारी बजार क्षेत्र डुबानको जोखिममा परे। भक्तपुरको मध्यपुर थिमी भएर बग्ने हनुमन्ते खोलामा बाढीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन वर्षा र बाढीको सम्भावना कायम रहेकाले उपत्यकाका नदी तथा खोलाहरूमा बाढीको सतह अझै बढ्न सक्ने सम्भावना छ। नदीहरूमा पानीको सतह बढेपछि सुरक्षा निकायले तटीय तथा करिडोर क्षेत्रमा उच्च निगरानी गरिरहेका छन्।

नदी किनारका बस्तीहरूमा माइकिङ गरेर सुरक्षाकर्मीहरूले सतर्क रहन र अनावश्यक रूपमा नदी आसपास नजान आग्रह गरिरहेका छन्। विशेष गरी बागमती र विष्णुमती करिडोर सडक सम्भव भएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ।  

असोज ९, २०८३ शुक्रबार १९:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।