दैलेखमा बाढी-पहिरोको जोखिम : सतर्क रहन र सुरक्षित स्थानमा जान प्रहरीको माइकिङ
सुर्खेत : अविरल वर्षा र प्रतिकूल मौसमका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि दैलेखका जोखिमयुक्त क्षेत्रहरूमा जिल्ला प्रहरी कार्यालयले माइकिङ गरी स्थानीयवासीलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी टोलीले बिहीबार जिल्लाका जोखिमयुक्त बस्ती तथा बजार क्षेत्रहरूमा माइकिङ गर्दै सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे स्थानीयवासीलाई जानकारी गराएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका-२ तल्लो डुङ्गेश्वर, ठाटीकाँध गाउँपालिका–२ ठाटीकाँध बजार, चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजार, गुराँस गाउँपालिका–८ धरमपोखरा, गुराँस गाउँपालिका–४ घोडाबास र दुल्लु नगरपालिका–१२ बिनायकमा प्रहरी टोली परिचालन गरी माइकिङ गरिएको छ।
प्रहरीले बाढी, पहिरो, डुबानलगायत विपद्को पूर्वसूचनापाउने बित्तिकै सुरक्षित स्थानतर्फ जान तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले खोला किनार, भिरालो जमिन र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत सचेत गराइएको प्रहरीले जनाएको छ।
विपद्का बेला फैलाइने अफवाहको पछि नलागी सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले जारी गरेका आधिकारिक सूचना मात्र पालना गर्न र आपत्कालीन अवस्था आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि समुदायस्तरमै पूर्वतयारी र पूर्वसूचनाको पहुँच बढाउन सचेतनामूलक कार्यक्रम गरिएको जनाएको छ। जोखिमको अवस्था हेरी जिल्लाका अन्य स्थानमा समेत माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ।
असोज ८, २०८३ बिहीबार १७:४४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।