कार्की साइँला : काँचो फुटेजहरूको थुप्रो

कार्की साइँला : काँचो फुटेजहरूको थुप्रो

नेपाली समाजका गम्भीर र पाखा लगाइएका पाटोहरूलाई पर्दामा ल्याउनु आफैँमा स्वागतयोग्य अभ्यास हो। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘कार्की साइँला’ ले पनि यस्तै केही गम्भीर विषयहरूलाई उठाउने प्रयास गरेको छ।

उनले सन्तान नहुँदाको सामाजिक तथा मानसिक प्रताडना, त्यसले निम्त्याउने कुलत, र बेचबिखनमा परेर फर्केका महिलाप्रति समाजको निर्मम व्यवहारलाई पर्दामा उतारेका छन्। तर, एउटा बलियो कथालाई सिनेमाको फ्रेममा रूपान्तरण गर्ने क्रममा निर्माण पक्ष चुक्दा राम्रो सम्भावना बोकेको विषय समेत निकै कमजोर बनेको छ। 

अब,लागौँ कथासारतर्फ,

बाबु बाजेकै पेसा, भारी बोक्ने काम गर्छन् ‘कार्की साइँला’(जितु नेपाल)। गाउँका भरियाहरूसँग मिलेर जगते (सुशील पोखरेल)का लागि सामान ओसार्ने उनको मुख्य काम हो।

उनको प्रेम विवाह भएको हुन्छ साइँली (मान्सी शर्मा)सँग। तर विवाह भएको लामो समय हुँदा पनि सन्तान हुन्न।  सन्तान नहुँदा मानसिक पीडामा त छ नै समाजले गर्ने व्यवहार समेत थपिँदा उनी मदिराको लतमा फस्छिन्।

कुलतमा फसेको श्रीमती, सन्तानको अभाव र कमजोर आर्थिक अवस्था, सबैतिरबाट चेपिन्छन् कार्की साइँला। उनी काममा गएको बेलामा एकाएक श्रीमती घरबाट हराउँछिन्।

श्रीमती पोइल गएको रनाहामा परेका कार्की साइँलाको भेट हुन्छ निर्जला (प्रियना आचार्य)सँग। भारतको मुम्बईमा बेचिएकी उनी बल्ल बल्ल गाउँ फर्किएकी हुन्छिन्। तर समाजले उनलाई स्विकार्दैन। उनी आत्महत्याका लागि जान्छिन्।

कार्की साइँलाले उनलाई श्रीमतीको रूपमा स्वीकार गर्छन् र दुवैको विवाह हुन्छ। अनि एकाएक साइँली गर्भवती भएर घर फर्किन्छन्। त्यसपछिका घटनाक्रम बुझ्न हलसम्मै जानै पर्छ।

बलियो कथा

फिल्मले महिलाको मानसिक अवस्था र समाजको व्यवहारमा जोड दिएको छ। सन्तानहीन हुनु महिलाको भूमिका मात्र हुन्न। तर समाजले पहिलो दोष महिलालाई नै दिन्छ। यो पक्षमा निर्देशकको दृष्टिकोण केही प्रस्ट देखिन्छ।

यसमा भारतको यौन कोठीमा बेचिएर बल्ल बल्ल गाउँ फर्किएको महिलाप्रति समाजले गरेको दुर्व्यवहारको पक्षमा पनि निर्देशक केही हदसम्म संवेदनशील देखिन्छन्।

सहायक कथाको रूपमा राखिएको लिम्बु केटा र उनको प्रेमिकाको लभस्टोरीले दर्शकलाई रमाइलो गराउँछ। 

कमजोर शिल्प

समस्या कथामा होइन, कथ्यशैली मा देखिन्छ। फिल्मको मूल कथा कुन हो र सहायक कथा कुन भन्ने निर्देशकले छुट्याउन सकेका छैनन्। कथाको फोकस पटक-पटक यति धेरै बहकिएको छ कि दर्शकले कुन पात्रको पीडामा बढी अनुभूत गर्ने भन्नेमै अलमल हुन्छ।

मुम्बईबाट फर्किएको महिला, सन्तानहीन हुँदाको साइँली वा कार्की साइँला फिल्मको मूल कथा कुन हो अनि सहायक कथा कुन? फिल्मको मुख्य समस्या यसमै देखिन्छ।

निर्देशकले कथा भन्दै जाने क्रममा केही ट्विस्ट नमिसाएको हैन। तर त्यो ट्विस्टले त्यति काम गरेको देखिन्न। किनकि ट्विस्टमा पुग्नु अगाडि नै फिल्मको ताल हेरेर दर्शक झिँजि सकेका हुन्छन्।

फिल्ममा अनावश्यक रूपमा यति लामा दृश्य राखिएका छन् त्यसले दर्शकको धैर्यताको पटक पटक परीक्षा लिइरहन्छ। जस्तो फिल्मको पर्दा खुल्दा नै रक्सी पिएर बाटोमा हिँडिरहेकी साइँलीलाई घर फर्काउँदाको दृश्य नै अति लामो छ जसको अर्थ नै देखिन्न।

फिल्मको संवाद,पटकथा अनि दृश्य कुनै पक्षमा पनि ‘अँ यो चैँ अलि गतिलो काम भएको रैछ है’ भन्न सकिने देखिएन। त्यसमा कमजोर छायाङ्कन, कमजोर सम्पादनले फिल्मलाई थप कमजोर बनाउन सहयोग पुर्याएको अनुभव हुन्छ।

ब्याकग्राउण्ड म्युजिक, ब्याकग्राउण्ड स्कोर उस्तै झर्को लाग्दो सुनिएको छ। कलर छन्द न बन्दको देखिन्छ।

अभिनय र चरित्र चित्रण

मुख्य अभिनेता जितु नेपालले यसअघि 'कार्साङ' जस्ता फिल्ममा यो भन्दा परिपक्व अभिनय कला देखाइसकेका छन्। यहाँ पनि उनको प्रयास नभएको होइन, तर कमजोर पटकथा र निर्देशनका कारण उनको अभिनयले 'लगाम नलगाएको घोडा' जस्तो दिशाहीन गति लिएको भान हुन्छ। 

उनीसँगै प्रियना आचार्य र मान्सी शर्माका चरित्रहरूको आन्तरिक द्वन्द्वलाई गहिराइमा पुर्याउन पटकथाले साथ दिएको छैन।

विशेष गरी, साइँलीको कुलतलाई बारम्बार उही प्रकृतिका लामा दृश्यहरूमार्फत मात्रै देखाइरहनु फिल्मको समय लम्ब्याउने बाहेक अर्थपूर्ण लाग्दैन। पहिलो दृश्यमै पात्रको अवस्था बुझिसकेका दर्शकलाई बारम्बार त्यही दृश्य देखाएर धैर्यको परीक्षा लिनु अनावश्यक देखिन्छ। कलाकारको चरित्र निर्माण त भयो तर चरित्रमा टिकाइराख्न सकेको अनुभव पनि हुन्न फिल्ममा। 

प्राविधिक पक्ष 

एउटा फिल्मलाई दृश्यात्मक र श्रव्य रूपमा बाँध्ने प्राविधिक पक्षहरू यसमा सबैभन्दा कमजोर देखिए। यसको पटकथा र संवाद नै कमजोर देखियो।

संवादहरू बेलाबेला प्रभावकारी बन्न खोजे पनि प्रवाह कमजोर छ। द्वन्द्व र ट्विस्टहरू आउँदा पनि दर्शकमाझ त्यसले अपेक्षित कौतूहल जगाउन सक्दैन, किनकि त्यहाँ पुगुन्जेलमा दर्शक कथाको सुस्त गतिबाट थाकिसकेका हुन्छन्।

दृश्यहरूको संयोजन खुकुलो हुँदा फिल्म अनावश्यक रूपमा लम्किएको छ। कतिपय सुरुवाती दृश्यहरू नै अति लामा छन्। छायाङ्कन र रङ संयोजनले पनि कथाको सुदूर गाउँको माटोको सुगन्ध वा मानसिक उकुसमुकुसलाई पर्दामा जीवन्त उतार्न सकेको छैन।

ब्याकग्राउण्ड स्कोर धेरै ठाउँमा अनावश्यक रूपमा चर्को र झर्कोलाग्दो सुनिन, जसले दृश्यको गम्भीरतालाई घटाएको छ। ‘लग्यौ परान’ गीत मात्रै कथाको मर्मसँग केही हदसम्म संवाद गर्न सफल देखिन्छ।

अन्त्यमा,

‘कार्की साइँला’ विषयवस्तुको हिसाबले निकै सम्भावना बोकेको फिल्म देखियो। अहिले व्यापारलाई आधार मान्ने हो भने यस्तै यस्तै आँशू केन्द्रित फ्लेवरका फिल्मले दर्शकलाई हलसम्म तानिरहेका छन्।

यदि यसको पटकथामा कसिलो पकड, सम्पादनमा धारिलोपन र निर्देशनमा गम्भीरता हुन्थ्यो भने यो एउटा गतिलो सामाजिक ड्रामा बन्न सक्थ्यो। 

तर, राम्रो विषय बोकेर पनि त्यसलाई फिल्मको फ्रेममा ढालेर न्याय दिन नसक्दा 'कार्की साइँला'  काँचो फुटेजहरूको थुप्रो जस्तै मात्र बन्न पुग्यो, फिल्म बन्न सकेन।

असोज ८, २०८३ बिहीबार १७:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।