तिनाउमा बाढीको जोखिम : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बुटवल उपमहानगरको आग्रह
बुटवल : लगातारको वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित रहन उपमहानगरले अनुरोध गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन लुम्बिनी प्रदेशका तराई तथा केही पहाडी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ। मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै बुटवलमा सम्भावित बाढी, पहिरो र अन्य विपद्को जोखिमलाई ध्यानमा राखेर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।
बुटवलका नगरप्रमुख खेलराज पाण्डेले तिनाउ आसपासका बासिन्दाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। नदीमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान र जोखिम महसुस भए सुरक्षित स्थानतर्फ जान उनले आग्रह गरे।
उनले बुटवलका पाखापानी, लक्ष्मीनगरलगायत पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरेका छन्। लामो समय पानी परे कमजोर भूभागमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले कुनै असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न उनले अनुरोध गरेका छन्।
सम्भावित विपद्को पूर्वतयारीका लागि उपमहानगरपालिकाको आज विपद् व्यवस्थापनसम्बन्धी बैठकसमेत बसेको छ। बाढी, पहिरो वा अन्य विपद् आइपरे तत्काल उद्धार तथा राहत राहत सामग्रीसहित टोली परिचालन हुने गरी सुरक्षा निकायहरूलाई 'अलर्ट' राखिएको उपमहानगरले जनाएको छ।
यसैबीच, प्रहरीले पनि जोखिमयुक्त बस्तीहरूमा पुगेर माइकिङ गर्दै स्थानीयलाई सजग गराउन सुरु गरेको छ। प्रहरीले स्थानीयलाई नआत्तिन तर पूर्वतयारीका साथ सुरक्षित रहन आग्रह गरेको छ।
मौसमविद्हरूले जोखिमयुक्त क्षेत्रमा नजान, सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न तथा सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न सुझाव दिएका छन्।
असोज ८, २०८३ बिहीबार १४:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।