ह्वाइट हाउसद्वारा प्रतिबन्धित ३ सञ्चारमाध्यमलाई तत्काल प्रवेश दिन अदालतको आदेश
एजेन्सी : अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई गत साता ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाइएका तीन प्रमुख सञ्चारमाध्यमहरूको पहुँच तत्काल पुनःस्थापित गर्न आदेश दिएका छन्।
डिस्ट्रिक्ट अफ कोलम्बिया अदालतका न्यायाधीश टिमोथी केलीले बिहीबार अस्थायी अन्तरिम आदेश जारी गर्दै 'सीएनएन', 'एमएस नाउ' र 'पोलिटिको'लाई आगामी १४ दिनका लागि ह्वाइट हाउसमा पुनः प्रवेश अनुमति दिनआदेश दिएका हुन्।
उनले सञ्चारमाध्यमहरूले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताएका छन्। उनका अनुसार प्रतिबन्धले सञ्चारमाध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको छ।
आफ्ना पत्रकारहरूको 'हार्ड पास' (स्थायी प्रवेशपास) जफत गरिएपछि ती तीन मिडिया संस्थानहरूले ह्वाइट हाउसको कदम असंवैधानिक भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।
न्यायाधीश टिमोथी केलीका अनुसार ह्वाइट हाउसले प्रतिबन्ध लगाउने क्रममा 'पर्याप्त कानुनी प्रक्रिया' पालना नगरेको र सञ्चारमाध्यमहरूले आफ्नो पक्ष प्रस्तुत गर्ने सम्भावना बलियो रहेको बताएका छन्।
तीनै सञ्चारमाध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दाबी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्राप्त प्रेस स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको जिकिर गरेका थिए।
ट्रम्प प्रशासनले ती मिडियाहरूले भ्रामक समाचार सम्प्रेषण गरेको र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको दाबी गरे पनि अदालतले सो तर्कलाई अस्वीकार गरिदिएको छ। न्यायाधीशले टिप्पणी गर्दै भने, "अमेरिकी प्रशासनले पेस गरेका तथ्यहरूमा पत्रकारहरूको प्रवेशपास रद्द गर्दा राष्ट्रिय सुरक्षाको रक्षा हुन्छ भन्ने वा पास पुनर्वहाली गर्दा सुरक्षा खतरामा पर्छ भन्ने ठोस प्रमाण भेटिँदैन।"
ह्वाइट हाउसले आफ्नो बचाउमा ती मिडियाहरूले ह्वाइट हाउस निर्माण तथा नयाँ 'बलरुम' सम्बन्धी लेखेका केही समाचारहरूलाई उद्धृत गरेको थियो। तर अदालतका अनुसार विवादित अधिकांश समाचार लेख्ने पत्रकारहरूसँग ह्वाइट हाउसको पास नै थिएन।
पास भएका पत्रकारहरूको हकमा पनि उनीहरूको उपस्थिति समाचारसँग प्रत्यक्ष जोडिएको ठोस आधार प्रशासनले देखाउन सकेन। साथै ट्रम्प प्रशासनले रक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ पेस गरे पनि न्यायाधीशले ती अधिकारीहरूलाई ह्वाइट हाउसमा पत्रकारहरूले कसरी काम गर्छन् भन्ने प्रत्यक्ष ज्ञान र अनुभव नरहेको टिप्पणी गरे।
सरकारका अधिवक्ता माइकल भेल्चिकले भने ह्वाइट हाउसमा कसलाई प्रवेश दिने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गर्दै ‘ह्वाइट हाउसमा पहुँच एउटा विशेषाधिकार हो, अधिकार होइन’ भनेका थिए।
न्यायाधीश केलीलाई राष्ट्रपति ट्रम्पले सन् २०१७ मा सङ्घीय न्यायाधीशमा नियुक्त गरेका थिएर। उनले यसअघि सीएनएनका पत्रकार जिम एकोस्टाको ह्वाइट हाउस प्रवेश अनुमति पुनःस्थापित गर्न आदेश दिएका थिए।
असोज ८, २०८३ बिहीबार १३:१४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।