भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा : ओडिशा र आन्ध्र प्रदेशमा पुल बगायो, बंगाल र बिहारमा ‘हाइअलर्ट’
एजेन्सी : बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्रमा ठोक्किएको छ।
मध्यरातमा जमिनको सतहमा प्रवेश गरेको यस चक्रवातका कारण दुवै राज्यमा मुसलधारे वर्षा र भीषण हावाहुरी चलेको छ।
चक्रवातका कारण दक्षिणी ओडिशामा बाढी आउँदा चारभन्दा बढी पुल तथा सडकहरू बगेका छन्। जोखिमयुक्त क्षेत्रबाट हालसम्म करिब ५ हजार सर्वसाधारणलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
बाढीले सडक र पुल बगाएपछि ओडिशाको मालकानगिरी, कालीमेला, मोटु र पोडिया क्षेत्रको आवागमन पूर्ण रूपमा विच्छेद भएको छ भने राष्ट्रिय राजमार्ग-३२६ मा सयौँ सवारीसाधन अलपत्र परेका छन्।
यस्तै, आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ७५ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चलेको छ। विजयवाडा सहरका अधिकांश होचा भूभागहरू जलमग्न भएका छन्। प्रतिकूल मौसमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विद्यालयहरू लगातार दोस्रो दिन पनि बन्द गराएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो मौसमी प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको सुस्त गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अगाडि बढिरहेको छ।
अन्य राज्यहरूमा पनि संकट र अलर्ट
पश्चिम बंगालको तटीय जिल्ला 'साउथ २४ परगना' मा ओरेन्ज अलर्ट जारी गर्दै माझीहरूलाई समुद्रमा जान रोक लगाइएको छ। चक्रवातको प्रभावले नेपालसँग सीमा जोडिएका पहाडी जिल्लाहरू दार्जिलिङ र कालिम्पोङमा भीषण वर्षा र पहिरोको उच्च जोखिम रहेको चेतावनी दिइएको छ।
चक्रवातको असरले बिहारका सबै ३८ जिल्लामा तीव्र हावाहुरीसहित वर्षा भइरहेको छ। मौसम विभागले १९ जिल्लामा भारी वर्षाको 'ओरेन्ज' र अन्य १९ जिल्लामा मध्यम वर्षाको 'यलो' अलर्ट जारी गरेको छ।
उत्तर प्रदेशको लखनउ, महराजगञ्ज र गोन्डा लगायतका सहरमा बिहानैदेखि मुसलधारे वर्षा भइरहेको छ। गोन्डामा वर्षाका कारण कक्षा १ देखि ८ सम्मका सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्।
उत्तराखण्डका १० जिल्लामा वर्षाको पूर्वानुमान गरिएको छ भने हिमाचल प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली (वेस्टर्न डिस्टर्बेन्स) सक्रिय भएसँगै तापक्रममा ३ डिग्रीसम्म गिरावट आउने र चिसो बढ्ने अनुमान गरिएको छ।
असोज ८, २०८३ बिहीबार १३:०४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।