अति भारी वर्षाको पूर्वअनुमान : रातिको समयमा राजमार्गमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका धेरैजसो स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले फेसबुकमार्फत् सो अनुरोध गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिमबाट जोगिन पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन्।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।
विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा समेत भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको उल्लेख गरे।
"मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ," उनले लेखेका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै पानी परिरहेको समयमा र विशेष गरी रातिको समयमा राजमार्गहरूमा यात्रा नगर्न, पहिरो, बाढी तथा नदी-खोला किनार आसपासका क्षेत्रमा सतर्कता अपनाउन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा ट्रेकिङ जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नआएसम्मका लागि यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले भनेका छन्।
जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने अद्यावधिक सूचनाहरू नियमित रूपमा हेर्न तथा निर्देशनको पालना गर्न समेत प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।
असोज ७, २०८३ बुधबार १६:५९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।