एल निनोका कारण फेब्रुअरीसम्म विश्वभर ४ लाख ५१ हजार र भारतमा मात्रै १५ हजारभन्दा बढीको मृत्यु हुन सक्ने चेतावनी

एल निनोका कारण फेब्रुअरीसम्म विश्वभर ४ लाख ५१ हजार र भारतमा मात्रै १५ हजारभन्दा बढीको मृत्यु हुन सक्ने चेतावनी

एजेन्सी : यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ।

युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्मको अवधिमा उच्च तापक्रमका कारण हुनसक्ने सम्भावित मृत्युको यो अनुमान गरेका हुन्। 

२४ हजारभन्दा बढी क्षेत्रको तथ्याङ्क विश्लेषण गरी तयार पारिएको यस अध्ययन अनुसार जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन्।

अध्ययनका सहसंस्थापक माइकल ग्रीनस्टोनले एल निनो फेब्रुअरीसम्म अन्त्य हुने अपेक्षा गरिए पनि त्यसको गर्मीजन्य प्रभाव त्यसपछि पनि रहन सक्ने बताए। उनका अनुसार पहिल्यै तातो क्षेत्रमा तापक्रम थप बढ्दा जोखिम निकै उच्च हुन्छ।

अनुसन्धानकर्ताले विश्वका २४ हजारभन्दा बढी क्षेत्रमा उच्च तापक्रमले मृत्युदरमा पार्ने प्रभावसम्बन्धी तथ्याङ्कलाई मौसमी तापक्रम पूर्वानुमानसँग तुलना गरेका हुन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ। त्यहाँ करिब ६६ हजार ८०० अतिरिक्त मृत्यु हुनसक्नेछ । फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी १९ हजार ४००, इन्डोनेसियामा १९ हजार ३००, भारतमा १५ हजार ८०० र ब्राजिलमा १३ हजार ३०० अतिरिक्त मृत्यु हुने अनुमान गरिएको छ।

गर्मीबाट हुने जोखिम घटाउन गर्मीसम्बन्धी पूर्वसूचना प्रणाली, शीतलन केन्द्र, पानी तथा स्वास्थ्य सेवा, बाहिरी कामदारका लागि सुरक्षा र वृद्धवृद्धा तथा अन्य जोखिममा रहेका समूहलाई लक्षित सहायता आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन्। अत्यधिक गर्मी आउनुअघि नै स्रोत परिचालन गर्न अग्रिम वित्तीय तयारी गर्न पनि उनीहरूले सुझाव दिएका छन्।

एनआरडीसी इन्डियाका ताप विशेषज्ञ अभियनन्त तिवारीले प्रतिवेदनलाई त्रास फैलाउनेभन्दा तत्काल तयारी र प्रभावकारी कार्यान्वयनका लागि सचेत गराउने माध्यमका रूपमा लिनुपर्ने बताए। “तयारीको वास्तविक मापन हामीले कति चेतावनी जारी गर्छौं भन्ने होइन, मानिसलाई कति प्रभावकारी रूपमा सुरक्षित राख्छौँ र रोक्न सकिने मृत्यु कति घटाउँछौँ भन्ने हो”, उनले भने।

एल निनो प्राकृतिक जलवायु प्रणाली भए पनि यस वर्षको शक्तिशाली एल निनो पहिले नै तातिरहेको पृथ्वीमा देखिएको छ। क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार यस अवधिमा विश्वव्यापी भूमि तापक्रम सामान्य वर्षको तुलनामा करिब १.२ डिग्री सेल्सियस बढी हुनसक्छ र गर्मीका दिन ४४ प्रतिशतसम्म बढ्न सक्छन्।

अनुसन्धानकर्ताका अनुसार यसले आगामी दशकमा जलवायु परिवर्तनका कारण देखिन सक्ने गर्मीको अवस्थाको पूर्वसङ्केतसमेत दिन सक्छ ।

असोज ७, २०८३ बुधबार १६:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।