बाढीपीडित शिविरमा महिला र बालबालिका असुरक्षित भएको भन्दै मनिष झाले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित राहत शिविरहरूमा महिला र बालबालिका सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडित शिविरमा देखिएको सुरक्षा चुनौतीप्रति सजग रहन र उनीहरूको सुरक्षाका लागि विशेष कदम चाल्न सरकारसँग माग गरे।
उनले भने, "अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसि राखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ । त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु।"
यस्तै, गत वर्षको चुनावी अभियानका क्रममा जनकपुरमा माघ ५ गते जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै उनले सोहीअनुसार सरकारले जानकी मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेकोमा आभार व्यक्त गरे।
उनले भने, "गत वर्ष चुनावी अभियान सुरु गर्दै गर्दा जनकपुरमा माघ ५ गते जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रतिबद्धता हामीले जाहिर गरेका थियौँ। त्यस प्रतिबद्धता अन्तर्गत अहिले जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रटिस्ठान क्षेत्रको रूपमा घोषणा गर्ने कार्यक्रम नेपाल सरकारबाट भएको छ। मन्त्रीपरिषद्बाट पाश भएको छ। त्यसप्रति आभार व्यक्त गर्दछु।"
पछिल्लो समय निर्माण तथा पूर्वाधारका काममा सरकारले देखाएको तदारुकताको प्रशंसा गर्दै सांसद झाले कृष्णभिरको अवरुद्ध सडक १२ दिनमै पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सक्रियताको समेत प्रशंसा गरे।
असोज ७, २०८३ बुधबार १३:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।