प्रतिनिधिसभामा उर्जामन्त्री : ‘विपत्तिको यो घडीमा सरकार निराश छैन, खोज र पुनर्निर्माण प्राथमिकतामा’

प्रतिनिधिसभामा उर्जामन्त्री : ‘विपत्तिको यो घडीमा सरकार निराश छैन, खोज र पुनर्निर्माण प्राथमिकतामा’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए। 

सरकारले घाइतेको उपचार, विस्थापितको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुललगायत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

उनले बाढीमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताए।

उपल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकामा ९५५ जनाको सकुशल उद्धार भएको वा उनीहरू आफैं सम्पर्कमा आएको मन्त्रीले बताए। यो आयोजनाबाट ४३९ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए। बाढी आएको १२औँ दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको तथा हालसम्म ३९ वटा शव फेला परेको उनले बताए।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको र खोज तथा उद्धारका क्रममा बाढीको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए। 

यसैगरी देवीघाट जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र तथा चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले संसदलाई जानकारी दिए।

मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताए। उनका अनुसार भोटेकोशी–त्रिशूली नदी प्रणालीमा नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्। जसका कारण कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीभन्दा बाहिर रहेको उनले जानकारि दिए।

यस्तै, प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विषम परिस्थितिमा ज्यान जोखिममा राखेर खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा दुई प्रतिशत कोटा सुनिश्चित गर्ने कानुनी व्यवस्थाको प्रक्रिया अघि बढाइएको घोषणा गरे।

भूमिगत संरचनामा फसेका तथा सम्पर्कविहीन रहेका व्यक्तिको खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मन्त्री श्रेष्ठले विपत्तिको यस कठिन परिस्थितिमा सरकार निराश नभएको र प्रभावित नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन पूर्ण रूपमा लागिपर्ने बताएका छन्।

असोज ७, २०८३ बुधबार १२:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।