२०८२ कात्तिकमा दुर्घटना परेका थिए त्रिपुरेश्वर घटनाका चालक, तीन महिनाअघि अभद्र व्यवहार मुद्दा

२०८२ कात्तिकमा दुर्घटना परेका थिए त्रिपुरेश्वर घटनाका चालक, तीन महिनाअघि अभद्र व्यवहार मुद्दा

काठमाडौं : त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टपनजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

अस्पताल बाहिर अहिले उनका दुई श्रीमतीसहितका आफन्तहरूले श्रीमानलाई मर्न बाध्य पार्नेहरूमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

मृतक चालक तामाङ विसं २०८२ कात्तिक २२ मा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही घटनापश्चात् फरार भएका थिए। त्यो समयमा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए।

तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।

त्रिपुरेश्वर घटनामा पनि दावा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ।

अनुसन्धानका क्रममा मृतक चाकलले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने  प्रहरीले जनाएको छ।

मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए।

सम्बन्धित समाचार:

असोज ६, २०८३ मंगलबार १३:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।