मिडिया बहिष्कारपछि प्रसारण गरिएको ह्वाइट हाउसको कार्यक्रममा ट्रम्पको आवाज नै सुनिएन
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट केही प्रमुख सञ्चारमाध्यमहरूलाई प्रतिबन्ध लगाएपछि त्यसको असर उनकै कार्यक्रम प्रसारणमा देखिएको छ।
ह्वाइट हाउसको 'प्रेस पुल' (सञ्चारमाध्यमहरूको संयुक्त टोली) लाई हटाइएपछि ट्रम्प सोमबार ह्वाइट हाउसको एक कार्यक्रममा बोलिरहँदा टेलिभिजनका दर्शकले उनको आवाज स्पष्ट रूपमा सुन्न सकेनन्।
ट्रम्पले सोमबार दिउँसो ह्वाइट हाउसको बगैँचामा निर्माण गरिएको नयाँ हेलिप्याडको उद्घाटन गरेका थिए। उक्त कार्यक्रमको भिडियोमा ट्रम्प नयाँ हेलिप्याडतर्फ जाने बाटोमा रिबन काट्दै र कामदारहरूसँग कुराकानी गर्दै गरेको देखिन्छ। तर ह्वाइट हाउसको प्रत्यक्ष प्रसारणमा उनको आवाज स्पष्ट रूपमा सुनिएनन्। विशेषगरी हेलिकप्टरको आवाजका कारण ट्रम्पले भनेको केहीपनि बुझ्न सकिएन्।
ट्रम्पप्रति उदार मानिने समाचार संस्था 'न्यूजम्याक्स' का लागि सो कार्यक्रम कभर गरिरहेकी प्रस्तोता बियान्का डे ला गार्जाले भनिन्, "पुल क्यामेराहरू त्यहाँ नभएकाले नै कुनै माइक्रोपोन उपलब्ध हुन सकेन।"
सञ्चारमाध्यममाथि ट्रम्पले गरेको कारबाही र त्यसको परिणामबारे टिप्पणी गर्दै उनले थपिन्, "सञ्चारमाध्यममाथिको यो हमला उनकै लागि थोरै भए पनि प्रत्युत्पादक बनेको यो एउटा उदाहरण हो।"
किन भयो प्रेस-पुल कभरेज बहिष्कार?
शुक्रबार राष्ट्रपति ट्रम्पले सीएनसीएनएन, एमएस नाउ, र पोलिटिकोलाई "फेक न्युज" को संज्ञा दिँदै ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए। उक्त निर्णयको विरोधमा एबीसी, सीबीएस, एनबीसी र फक्स न्युज लगायत ह्वाइट हाउस प्रेस पुलमा रहेका अन्य प्रमुख टेलिभिजन नेटवर्कहरूले पनि ऐक्यबद्धता जनाउँदै सोमबारका लागि आफ्ना 'प्रेस पुल' जिम्मेवारीहरू बहिष्कार गरे।
यी नेटवर्कहरूले पालैपालो राष्ट्रपति सहभागी हुने कार्यक्रमका लागि क्यामेरा, माइक्रोफोन र प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दै आएका थिए। पहुँच सीमित हुने कार्यक्रमहरूमा एउटै नेटवर्कले खिचेको भिडियो, अडियो र रिपोर्टिङ अन्य समाचार संस्थालाई समेत उपलब्ध गराउने व्यवस्था प्रेस-पुलमार्फत हुन्छ। तर, बहिष्कारपछि त्यसको प्रत्यक्ष असर हेलिप्याड उद्घाटन समारोहको प्रसारणमा देखियो।
पाँच प्रमुख नेटवर्कले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ""आफ्नो सरकारका बारेमा सही र स्वतन्त्र सूचना प्राप्त गर्ने सर्वसाधारणको महत्त्वपूर्ण अधिकार छ। कुनै पनि प्रशासनले समाचार संस्थाको रिपोर्टिङप्रति आपत्ति जनाएकै भरमा उसलाई प्रतिबन्ध लगाउनु हुँदैन।"
फक्स न्युजका वासिङ्टन ब्युरो प्रमुख तथा ह्वाइट हाउस टेलिभिजन पुलका अध्यक्ष ब्रायन बाउटनले सञ्चार संस्थाहरूलाई पठाएको आन्तरिक विज्ञप्तिमा भनिएको छ, "यसको सट्टामा कुनै पनि वैकल्पिक पुल राखिने छैन।"
सी-स्पानद्वारा प्रसारण रद्द, ह्वाइट हाउसले ल्यायो ‘ट्रम्प टिभी’
प्रेस-पुलको क्यामेरा र फिड उपलब्ध नभएपछि अमेरिकी सार्वजनिक मामिला प्रसारण संस्था सी–स्पानले समेत हेलिप्याड उद्घाटन कार्यक्रम प्रसारण गरेन। सी–स्पानले राष्ट्रपति कार्यक्रमको कभरेजका लागि टेलिभिजन प्रेस-पुलबाट प्राप्त हुने फिडमा निर्भर रहने भएकाले प्रत्यक्ष प्रसारण गर्न नसकेको हो।
यसले गर्दा कार्यक्रममा राष्ट्रपति स्वयं उपस्थित भए पनि स्वतन्त्र टेलिभिजन कभरेज भने अत्यन्त सीमित भयो।
प्रेस-पुलको बहिष्कारपछि ह्वाइट हाउसले ‘ट्रम्प टिभी’ नामको २४ घण्टा चल्ने स्ट्रिमिङ प्लेटफर्मसमेत सुरु गरेको छ। यसमार्फत प्रशासनका घोषणा, राष्ट्रपतिको सम्बोधन तथा ट्रम्पसँग सम्बन्धित अन्य गतिविधिको कभरेज प्रसारण गरिने बताइएको छ।
अदालतमा मुद्दा दायर
प्रतिबन्धमा परेका सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार अदालतमा मुद्दा दायर गरेका छन्। ह्वाइट हाउसको कदम अमेरिकी संविधानको पहिलो संशोधनले दिएको प्रेस स्वतन्त्रताको अधिकारविपरीत भएको उनीहरूको दाबी छ। यसअघि पनि ट्रम्प प्रशासनले मिडियामाथि लगाएका यस्ता प्रतिबन्धहरूलाई अदालतले खारेज गरिदिएका उदाहरण छन्।
ह्वाइट हाउसले नयाँ प्रेस पुल गठनका लागि कुनै प्रयास नगरेको बताइएको छ। यस हप्ता संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्प सहभागी हुन लागिरहेका बेला यो विवादले उनको कभरेजमा थप जटिलता ल्याउने देखिएको छ।
असोज ६, २०८३ मंगलबार १२:५१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।