निवर्तमान मन्त्रीसहित तीन जनामाथि घूस लेनदेनको आरोप, छानबिनको लागि समिति गठन

निवर्तमान मन्त्रीसहित तीन जनामाथि घूस लेनदेनको आरोप, छानबिनको लागि समिति गठन

गण्डकी : गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधि बसौलामाथि पोखराको पद्य नर्सिङ होम स्तरवृद्धिको अनुमति दिने विषयमा घूस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन सुरु गरेको छ।

घूस लेनदेनको विषय सञ्चारमाध्यममार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए। 

उक्त प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव डा बसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता बोलाइएको छ। उक्त घटनाको छानबिन तथा अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा पत्रचारसमेत गरेको प्रवक्ता शेरचनले बताए। छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

समितिले अस्पतालको अनुमति/स्तर वृद्धिसम्बन्धी कानुनी व्यवस्था, प्रक्रियालगायतका विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ। छानबिनबाट उक्त विषयको वैधानिकता र प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अस्पताल स्तरवृद्धिका लागि दिइएको अनुमतिको निर्णय कार्यान्वयन नगरी स्थगन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाइने भएको छ। 

असोज ५, २०८३ सोमबार १७:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।