नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
बाँके : बाँकेको नेपालगञ्जमा बाँदरको आक्रमण तीव्र रूपमा बढेपछि सर्वसाधारण चिन्तित बनेका छन्। बाँदर धपाउने क्रममा आक्रमणमा परी पछिल्लो डेढ महिनाको अवधिमा मात्रै ४० जना घाइते भएका छन्।
घाइते सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गरिएको छ। भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार सहर क्षेत्रमा बाँदर घरघरमै छिरेर मानिसलाई टोकेका घटनाहरू अचम्मलाग्दा खालका छन्।
“कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो”, डा चापागाईंले भने, “तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ।”
उनले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिएका छन्। भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन्।
डा. चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन्। सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४०, मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी छन्। यसैगरी यो अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारको लागि आएको डा. चापागाईंले बताए। यो अवधिमै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी उपचारको लागि भेरी अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताए। उनले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए।
असोज ५, २०८३ सोमबार १२:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।