भारतमा श्रीमानसँगको विवादपछि आमाले आफ्नै छोरी र भतिजालाई इनारमा फालिन्, ३ वर्षका बालकको मृत्यु

भारतमा श्रीमानसँगको विवादपछि आमाले आफ्नै छोरी र भतिजालाई इनारमा फालिन्, ३ वर्षका बालकको मृत्यु

एजेन्सी : भारतको कर्नाटकमा श्रीमानसँग फोनमा भनाभन भएपछि आक्रोशमा आएकी एक २८ वर्षीया महिलाले आफ्नै साढे तीन वर्षीया छोरी र तीन वर्षका भतिजालाई इनारमा फालेकी छन्।

हिन्दुस्तान टाइम्सका अनुसार कर्नाटकस्थित दक्षिण कन्नड जिल्लाको बन्टवाल तालुकअन्तर्गत पर्ने पेर्ने गाउँमा शनिबार दिउँसो करिब २ बजे यो घटना घटेको हो।  घटनामा संलग्न भएको आरोपमा २८ वर्षीया नुरुनिस्सालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार नुरुनिस्सा र उनका श्रीमान् सिनानबीच शुक्रबारको दिउँसो फोनमा कुराकानीका क्रममा घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादपछि आक्रोशित बनेकी नुरुनिस्साले घरनजिकै रहेको इनारमा आफ्नी करिब साढे तीन वर्षीया छोरी आलिया र श्रीमानकी बहिनीका करिब तीन वर्षीय छोरा मोहम्मद रबिहलाई धकेलिदिएकी थिइन्।  

घटनालगत्तै स्थानीय बासिन्दाले उद्धार गरी दुवै जनालाई अस्पताल पुर्याएका थिए। तर चिकित्सकहरूले मोहम्मद रबिहलाई मृत घोषित गरे। जीवितै उद्धार गरिएकी आलियाको भने मंगलुरुको एक अस्पतालमा उपचार भइरहेको छ।  

शुरुमा यो घटनालाई दुर्घटना मानिए पनि प्रहरीको विस्तृत अनुसन्धानपछि नुरुन्निसाले जानीजानी दुवै बालबालिकालाई इनारमा खसालेको खुलेको हो। सिनान र नुरुन्निसाको विवाह भएको ५ वर्ष भएको छ र उनीहरूका तीन महिनाका शिशुसहित दुई सन्तान छन्।

नुरुन्निसाका ससुरा अबुबक्कर एमले दिएको किटानी जाहेरीमा दोस्रो सन्तान जन्मिएपछि नुरुन्निसालाई बारम्बार टाउको दुख्ने गरेको र सामान्य विषयमा समेत श्रीमानसँग झगडा हुने गरेको उल्लेख गरिएको छ।

प्रहरीले नुरुन्निसाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

असोज ५, २०८३ सोमबार ११:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।