न बाबा, न आमा, बाल्यकालमै एक्लो
काठमाडौं : भदौ १४ गते। टिचिङ अस्पतालको बाल सर्जिकल वार्ड, बेड नम्बर ८७६। पाँच वर्षीय इसारा तामाङ टाउको र शरीरभरि चोट लागेको अवस्थामा पल्टिरहेकी देखिन्थी। रसुवा प्रलयको छालले उनको कलिलो अनुहार कोतरिएको थियो। त्यो भन्दा ठुलो प्रलय उनले सँगै रहेकी आमा गुमाइन्।
भदौ ११ गते उद्धार पश्चात् टिचिङ अस्पतालमा उनी आइपुग्दा उनलाई चिन्ने, भेट्न आउने र हेरचाह गर्ने साथमा कोही पनि थिएनन्। उनी काठमाडौँ आइपुगेको तेस्रो दिनमा गाउँकै छिमेकी दुई दिदीहरू भेट्न आइपुगे। त्यस अघिसम्म उनी पूर्ण रूपमा एक्लै अस्पतालको रेखदेखमा थिइन्।
“उनलाई यसरी यहाँ ल्याएको छ भनेर हामीलाई त थाहा पनि थिएन,” उनको रेखदेखमा अस्पतालमा बसिरहेकी आफन्त कुमारी तामाङले भनिन्, “बाढी आए पछि कोही पनि सम्पर्कमै भएन। पछि उसको सानी (सानी आमा) ले फेसबुकमा देखे पछि हामी यहाँ आइपुग्यौँ।”
इसाराको बुवा वैदेशिक रोजगारीको लागि मलेसियामा थिए। सानी आमा पनि उनको वैदेशिक रोजगारीमै थिइन्। उनी आफ्नो आमासँग बस्थिन्। बाढीमा आमा हराइन्। परिवारसँग टुटेको सम्पर्क सामाजिक सञ्जालले जोडिदियो।
उपचारपश्चात् उनी अहिले आफ्नो बाबा र सानी आमासँग नुवाकोटको बट्टारमा छिन्। आमा अझै बेपत्ता छिन्। अस्पताल ल्याउँदा उनको अवस्था निकै गम्भीर थियो। अस्पताल ल्याइएको लामो समयसम्म नबोलेकी उनी अहिले अलि खुल्न थालेको पारिवारिले बतायो।
बाढीपछि काठमाडौँमा उपचारको लागि ल्याइएको बालबालिका अधिकांशले आफ्नो आमाबुवा गुमाएको देखियो। यस्तै एक हुन् पाँच वर्षका आरुष तामाङ। उनले यो बाढीमा आफ्नो २६ वर्षीय आमा गुमाए। अहिले उनी पनि उपचारपछि बट्टारनै फर्किएका छन्।
कति बालबालिका प्रभावित भए, एकिन तथ्याङ्कै छैन
भोटेकोशी बाढीपछि कति बालबालिकाले दुवै अभिभावक गुमाए, कतिले एक, अनि कति प्रभावित भए? बाढी गएको एक महिना टेक्न लाग्दा पनि अहिलेसम्म सरकारसँग एकिन तथ्याङ्क छैन। सरकारसँग रहेको अनुमानित तथ्याङ्क नै हो।
राष्ट्रिय बाल अधिकार परिषद्को तथ्याङ्क अनुसार बाबुआमाबाट बिछोड भएका बालबालिकाको संख्या ४ सय ३९ जना छन्। आमाबुवा मध्ये एक अभिभावकसँग बसोबास गरिरहेका बालबालिका संख्या ६ सय ९२ देखियो भने आमाबाबा दुवै गुमाएका बालबालिकाको संख्या एक सय २।
परिषद्ले निकालेको भोटेकोशी बाढी प्रभावित बालबालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन, २०८३ मा बाढीबाट बालक भन्दा बालिका बढी प्रभावित भएको उल्लेख छ। भदौ १९ गतेसम्मको तथ्यांकमा बाढी प्रभावित जिल्लाको होल्डिङ सेन्टरमा रहेका बालबालिकाको संख्या १२ सय ३३ जना छन्। तर यो पूर्ण तथ्याङ्क भने हैन।
तथ्याङ्क संकलनको काम अगाडि बढाउन स्थानीय तहका बालकल्याण अधिकारीसँग सम्पर्क भइरहेको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए। आमाबुवा दुवै गुमाएका बालबालिकाका लागि ललितपुरको ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र बन्दै गरे पनि यहाँ कति बालबालिका राख्ने हो संख्या एकिन भएको देखिएन।
विपद् प्रभावित जिल्लामा समुदाय स्तरबाट होल्डिङ सेन्टर सञ्चालन भए पनि बालबालिका सहितलाई उद्धार गरी काठमाडौँको गुम्बाहरूमा लगिएको स्थानीयको भनाइको हवाला दिँदै परिषद्ले प्रतिवेदनमा उल्लेख गरेको देखिन्छ। तर कुन गुम्बामा कहाँका कति बालबालिका छन् ? तथ्याङ्क भेटिँदैन।
“रसुवाको आमाछोदिङमो गाउँपालिकाका बाढी प्रभावित सम्पूर्ण व्यक्तिलाई काठमाडौँको गुम्बाहरूमा लगिएको, गाउँपालिकाले उपलब्ध गराएको एक तथ्याङ्क अनुसार उक्त गाउँपालिकामा बाढीबाट प्रभावित भएका ६७ जना बालबालिकालाई काठमाडौँका विभिन्न गुम्बामा पठाइएको” प्रतिवेदनमा उल्लेख देखिन्छ।
तर उक्त गाउँमा कति बालबालिका बाढीमा हराए, कति भेटिए, कतिले अभिभावक गुमाए भन्ने विवरण छैन। स्थलगत अध्ययनको क्रममा रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाबाट मात्रै कम्तीमा २ सय बालबालिका हराएको प्रतिवेदनमा देखिन्छ। यसमा पनि बालबालिकाको एकिन अवस्था र तथ्याङ्क भने छैन। यसबारेमा यथार्थ अध्ययन तत्काल गरिनुपर्ने आवश्यकता देखिएको समेत प्रतिवेदनले औँल्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज एक गतेसम्म जम्मा २४ होल्डिङ सेन्टर सञ्चालनमा छन्। जसमा सबै भन्दा बढी रसुवा जिल्लामा सात सय ९४ जना आश्रित छन्। त्यस पछि नुवाकोट जिल्लामा चार सय २७ जना र धादिङमा एक सय २१ जना छन्। तर यस मध्ये बालबालिका कति छन् भनेर तथ्याङ्क छैन।
होल्डिङ सेन्टरमा बालबालिकाको बिजोग
बाल अधिकार परिषद्ले गरेको स्थलगत अनुगमनमा कतिपय सेन्टरमा आधारभूत सामग्रीको अभाव रहेको उल्लेख छ। विशेषगरी व्यक्तिगत सरसफाइका लागि आवश्यक साबुन, छुट्टाछुट्टै शौचालय, कपडा बदल्ने र नुहाउने ठाउँ अनि किशोरीका लागि ससेनेटरी प्याडको समेत व्यवस्था देखिएन।
विदुर नगरपालिकाले राखेको तथ्याङ्क अनुसार यहाँका बालबालिका सबै नगरपालिकाभित्र रहेका होल्डिङ सेन्टरमै छन्। प्रभावित बालबालिकालाई नगरपालिका क्षेत्रबाहिर पठाउन प्रतिबन्ध लगाएको छ। तर नगरपालिकाले विवरण छुट्याएर राखेको देखिएन।
विशेषगरी साना बालबालिका, अपाङ्गता भएका बालबालिका तथा निरन्तर हेरचाह आवश्यक पर्ने बालबालिकाको दैनिक आवश्यकताबारे सम्बोधन भएको देखिएन।
यता काठमाडौँका होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय गीतामातामा पढ्न जान थालेका छन्। एक सय ३४ बाढी प्रभावित बालबालिका पढ्न गइरहेका उक्त विद्यालयमा कुन विद्यार्थी कुन स्थानबाट आएका र कस्तो अवस्थाका हुन् भन्ने समेत स्पष्ट खुल्दैन।
प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठसँग बालबालिकाको अवस्थाबारे बुझ्दा उनले भने, “इसिडी पढ्ने बालबालिका समेत हुनुहुन्छ। हामीले उनीहरूको नाम बाहेक केही पनि सोधेका छैनौ। घर कहाँ हो? आमाबा कहाँ हुनुहुन्छ ? के गर्नुहुन्छ? भनेर प्रश्न सोध्दा झन् बाढीले पुर्याएको आघातको बारेमा सम्झना हुने हो कि भनेर हामीले व्यक्तिगत कुरा धेरै गरेको नै छैन।”
प्रभावितलाई सहयोग गर्नको लागि संस्थालेनै गाडीमा गुम्बाबाट विद्यालय ल्याउने र पुर्याउने गरिरहेको उनले बताए। दिवाखाजा र शैक्षिक सामग्री भने बालबालिकालाई महानगरपालिकाले उपलब्ध गराइरहेको छ।
विदुर नगरपालिकाको विवरण अनुसार भदौ १९ गतेसम्म जम्मा दुई हजार ८१ जना होल्डिङ सेन्टरमा बसोबास गरिरहेकामध्ये दुई वर्ष मुनिका बालबालिका ४६ र ३ देखि ५ वर्षका १०३ जना छन्।
टोलाउन थाले बालबालिका
भोटेकोशी बाढीबाट ३२ वटा विद्यालय प्रभावित भएका छन्। यसमध्ये १९ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् । पूर्ण क्षतिग्रस्त विद्यालयहरूमा नौ हजार चार सय विद्यार्थी यस शैक्षिक सत्रको लागि भर्ना भएका थिए।
जसमा आधा भन्दा बढी विद्यार्थी अझै हराइरहेका छन्। युनिसेफले अगस्ट ३१ मा प्रकाशित गरेको स्थिति प्रतिवेदन अनुसार भोटेकोशी बाढीबाट करिब २२ हजार भन्दा बढी बालबालिका प्रभावित भएका छन्। जसमा २६ सय बालबालिका पाँच वर्ष मुनिका छन्।
बालबालिकाले पढाई त के खाना समेत प्राप्त गर्न नसेको परिषद्कै प्रतिवेदनमा उल्लेख छ। मनोसामाजिक तथा मानसिक स्वास्थ्यका दृष्टिले बालबालिकाको लागि अहिलेको लागि अति संवेदनशील भएको भन्दै “घर, विद्यालय तथा सम्पत्ति गुमाउनु, आफन्त वा साथीको मृत्यु हुनु, परिवारका सदस्य सम्पर्कविहीन हुनु, उद्धार तथा पुनः स्थापनाको अनिश्चितता र परिचित वातावरणबाट विस्थापित हुनुले बालबालिकामा डर, तनाव, एक्लोपन, असुरक्षा, टोलाउने तथा झस्किने जस्ता लक्षण तथा व्यवहारगत परिवर्तन देखिएको” प्रतिवेदनमा उल्लेख छ।
असोज ४, २०८३ आइतबार २२:१६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।