दलाल मार्फत भारतमा १ करोडमा बेचिँदै नेपालीको कोख, सिआइबीलाई थाहा छैन
नेपाली महिलाको कोख नौ महिना भाडामा लगाए वापतको रकम एक करोड। सुन्दा अचम्म लाग्न सक्छ, हैन कि भन्ने पनि लाग्ला तर यो सत्य हो।
एक अनुसन्धानमा गरिबी र लाचारीको फाइदा उठाएर एक गिरोहले नेपाली चेलीहरूलाई भारत पूर्याएर उनीहरूको कोख करोडौँमा खरिदबिक्री गरिरहेको खुलेको हो।
भारतीय दैनिक पत्रिका ‘दैनिक भास्कर’ को स्टिङ अप्रेसनबाट खुले अनुसार नेपालको पोखरा अनि बुटवलमा रहेका दलालहरूले स्वास्थ्यका कारण आफैँ बच्चा जन्माउन नसक्ने वा अन्य कारण भाडामा कोख खोज्ने भारतीय दम्पतीको बच्चाको रहर पुरा गराउन यसरी नेपाली युवतीहरू भारत पुर्याएर कोखै बेच्ने गरेको खुलेको हो।
एक बच्चा जन्माए वापत कोखको भाडा १ करोड रुपैयाँ तोकिए पनि दलालले युवतीलाई जम्मा २५ लाखसम्म दिएर ७५ लाख भने आफैँ बाँडेर लिने गरेको खुलासा समेत भएको छ।
अझ अचम्म त यो छ कि, आइभिएफ वा कृत्रिम रूपमा गर्भाधान मात्र होइन- आवश्यकता परे 'शारीरिक सम्बन्ध' नै राखेर गर्भधारण गराउने धन्दा चलिरहेको समेत खुल्यो।
यसरी नेपाली युवती भारत लगेर यो कालो धन्दा अहिले कसरी चलिरहेको छ? को-को संलग्न छन् यसमा र, नेपालको अनुसन्धान निकायलाई यसबारे जानकारी छ कि छैन?
आजको यो विशेष रिपोर्टमा हामी यही नेपाली कोखमा भइरहेको गम्भीर अन्तर्देशीय अपराधको पर्दाफास गर्दैछौं।
OOO
एक महिलाले परिचित वा अपरिचित व्यक्ति वा दम्पतीको तर्फबाट बच्चा जन्माउन आफ्नो कोख भाडामा दिन सहमत हुँदै, जन्मपश्चात् सम्पूर्ण हकसहित हस्तान्तरण गर्ने अभ्यास-जुन ‘सरोगेसी’ वा कोख भाडामा लगाउने प्रक्रियाको रूपमा बुझिन्छ।
यो कुनै समय नेपालमा पनि महामारी झैँ फैलिएको थियो। देशका उच्च र प्रभावशाली घरानाका व्यक्तिहरू नै यो धन्दामा संलग्न थिए। उनीहरूले ठूला अस्पताल र क्लिनिक खोलेर त्यसलाई सरोगेसी केन्द्रमा बदलेर विदेशीहरूको लागि नेपाललाई 'फर्टिलिटी हब' बनाइदिएका थिए।
यसमा ग्रान्डी सिटी जस्ता अस्पतालको नामै जोडियो। डा. रूप ज्योति जोडिए। नेपालमा कोख भाडामा लगाउने गिरोह सार्वजनिक भए पनि प्रभावका कारण सरकारी निकाय भने मौन समान बस्यो। उल्टो स्वास्थ्य मन्त्रालय त अनेक नियम बनाएर उनीहरूलाई वैधता दिनतिर सक्रिय भयो।
संयोग भनौँ, नेपालमा २०७२ सालमा आएको विनाशकारी भूकम्पले यसलाई राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय बहसमा ल्याइदियो।इजरायलको विमानस्थलमा काखभरि नाबालकहरू बोकेर स्वदेश फर्किएका समलिङ्गी इजरायली नागरिकहरूको तस्बिर बाहिरिएपछि यो राष्ट्रियसँगै अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो। नेपाल प्रहरी एक्सनमा आउन बाध्य भयो। सर्वोच्च अदालतको आँखा खुल्यो। अनि सर्वोच्चमा रिट पर्यो।
जब सर्वोच्च अदालतमा रिट पर्यो यसलाई कानुनी वैधता दिन ठूलो चलखेल सुरु भयो। यसमा रुपज्योती नै सक्रिय भए।
धन्न सर्वोच्चले तत्काल यस्तो अमानवीय काम रोक्न निर्देशनात्मक आदेश जारी गर्यो र सरकारलाई यससम्बन्धी कडा कानुन बनाउन निर्देशन दियो।
रिटमा सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले गम्भीर निर्देशनात्मक आदेश जारी गरेको थियो।
त्यस आदेशमा स्पष्ट रूपमा भनिएको थियो:
महिलाको कोखको व्यापारिक रूपमा प्रयोग गर्न नमिल्ने हुँदा कोखामा भाडामा लगाउने काम पूर्ण रूपमा प्रतिबन्धित गर्ने, कुनै पनि विदेशी नागरिकलाई नेपालमा सरोगेसी सेवा नदिने तर नेपाली समलिङ्गी दम्पती वा एकल पुरुष वा एकल महिलालाई सरोगेसी सेवा उपलब्ध गराउनेबारे प्रस्ट कानुनी प्रबन्ध गर्ने...
तर, विडम्बना... अहिलेसम्म यसबारे कानुन बनेको छैन। तर सरोगेसी अहिले कागजी रूपमा ‘स्थगित’ छ। यसको विकल्पमा बग्रेल्ती आइभिएफ सेन्टरहरू खुले।
तिनीहरूले पनि उमेर नपुगेका र कानुनी रूपमा डिम्ब डोनेट गर्न नमिल्ने उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने धन्दा चलाएको खुल्यो।
यो धन्दामा सुशीला कार्की प्रधानमन्त्री हुँदाकी महान्यायाधिवक्ता सविता भण्डारी नै संलग्न रहेको आइभिएफ सेन्टर जोडियो। नूतन शर्मा अनि स्वाती शर्मा जस्ता चिकित्सक यो धन्दामा जोडिए।
प्रहरीले अनुसन्धान गरे पनि भण्डारी महान्यायधीवक्ताहुँदा आफू संलग्न कम्पनी जोगाउन मुद्दै नचल्ने निर्णय गरेर गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिइन्। यसबारेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। तर सर्वोच्चको पेशीमै चढ्दैन।
OOO
नेपालको कानुनको यही कमजोरी र राज्यको निष्क्रियताको फाइदा उठाउँदै अहिले यो धन्दा अहिले भारतमा चलिरहेको खुल्यो, अनि कोख चैँ नेपाली युवतीको।
‘दैनिक भास्कर’ ले एक सनसनीपूर्ण स्टिङ अपरेसनमार्फत क्रस बोर्डर क्राइमका रूपमा चलिरहेको यो गम्भीर अपराधको शुक्रवार पर्दाफास गर्यो।
भास्करमा प्रकाशित समाचार र भिडियोमा देखिए अनुसार, उनीहरूको पत्रकार टोलीले नेपालमै आएर यो नयाँ शैलीको अपराधको अनुसन्धान गरेका थिए।
उनीहरूले नेपाली युवती खोज्ने र पैसा लिएर भारत पठाउन संलग्न गिरोह नै भेट्यो। यसमा संलग्न देखिए बुटवलकी सुष्मा थापा, पोखराका दीपु र ओम जस्ता पात्रहरू।
समाचारमा उल्लेख भए अनुसार उनीहरूले एक करोड नेपाली रुपैयाँ लिएर नेपाली महिलाहरूलाई भारत पठाउने र उतै बच्चा जन्माएपछि महिलाहरूलाई नेपाल फर्काउने डरलाग्दो जालो चलाइरहेको भिडियो प्रमाणै सार्वजनिक गरेको छ।
सुष्मा थापाले त अहिलेसम्म ५ जना युवतीहरूलाई पठाइसकेको दाबी गरेकी छिन्, जसमा २० वर्षका कलिला युवतीहरूदेखि विवाहित महिलाहरूसम्म दलालको फन्दामा परेको देखिन्छ।
उनीहरूले १ करोड असुलेर पीडित महिलालाई जम्मा २५ प्रतिशत मात्र थमाइदिने अनि आवश्यकता परे आइभिएफको साटो सिधै शारीरिक सम्बन्ध राखेर गर्भधारण गराउन महिलाहरू तयार हुने दाबी गरेका छन्।
नेपालबाट महिलाहरू भारतमा यौन कोठीका लागि तस्करी हुने गरेका थिए। त्यसपछि किशोरीहरू सर्कसका लागि तस्करी सुरु भयो। पछिल्लो समय मानव अंग मिर्गौलाका लागि समेत नेपालीहरूलाई प्रलोभनमा पारेर भारत पूर्याउने गरेको पटक पटक खुलिरहेका छन्। भास्करले अर्को गम्भीर अपराध खुलायो।
नेपालका महिला भारत लगेर चलिरहेको यो अन्तर्देशीय अपराधबारे नेपालको अनुसन्धान निकाय जानकार छ त? उकेराले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता अनुप शमशेर राणालाई यही जिज्ञासा राख्यौ।
उनले भने “यसबारे हामीलाई अहिलेसम्म जानकारी छैन। यस्तो भइरहेको छ भने हामी अनुसन्धान गर्छौँ।”
असोज २, २०८३ शुक्रबार २३:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।