डा. प्रज्वलको उपचार अनुभव : धामीझाँक्रीदेखि भारतका अस्पतालसम्म धाउँदा पनि सन्चो नभएको त्यो घाउ...

डा. प्रज्वलको उपचार अनुभव : धामीझाँक्रीदेखि भारतका अस्पतालसम्म धाउँदा पनि सन्चो नभएको त्यो घाउ...

काठमाडौं : डा. प्रज्वल पाण्डे छाला तथा यौन रोग विशेषज्ञ हुन्। छाला तथा यौनसम्बन्धी समस्याको पहिचान र उपचार गर्नु उनको मुख्य दैनिकी हो।

चिकित्सकीय अभ्यासका क्रममा उनले समयमै रोगको सही पहिचान नहुँदा धेरै बिरामीले दुःख र हैरानी झेल्नुपरेको देखेका छन्। 

डा. पाण्डेले आफ्ना केही उपचार अनुभव उकेराको नियमित स्तम्भ ‘डाक्टरका सुख-दुःख’मार्फत यसरी साटेका छन्:

गलत उपचारबाट आजित बिरामीको त्यो सफल उपचार
केही वर्षअघि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ वर्षीय एक युवा छालाको समस्या लिएर डा. प्रज्वलको सम्पर्कमा पुगे। काछबाट सुरु भएर शरीरभरि फैलिएको घाउ, अत्यधिक चिलाउने, पोल्ने, रातो हुने, सुन्निने, दुख्ने जस्ता समस्याका कारण आक्रान्त ती युवा लामो समयसम्म पनि सन्चो नहुँदा मानसिक र शारीरिक पीडामा थिए।

डा. प्रज्वल कहाँ पुग्नुअघि उनी नेपाल र भारतका विभिन्न अस्पताल पुगेर उपचार गराए। निको हुने आशामा उनी धामी झाँक्री कहाँ पनि पुगे। तर, समस्या ठिक भएन। रोगको पीडाले विक्षिप्त बनेका उनी डा. प्रज्वललाई भेटेपछि भन्छन्, “लौन डाक्टरसाव, जे गरे पनि रोग निको भएन। रोग सन्चो हुन्छ भने बरु म कुकुरको दिसा खा भन्नुहुन्छ भने पनि खान तयार छु, मलाई जसरी पनि ठिक गरिदिनुपर्यो।”

बिरामीको यो छटपटीले डा. प्रज्वललाई गम्भीर बनायो। उनले ती युवालाई ढाडस दिँदै भने, “रोग जादुमन्त्रले होइन, सही पहिचान र नियमित उपचारले निको हुन्छ।” ती युवालाई नआत्तिन भन्दै उनले समस्याको वास्तविक जड पत्ता लगाउन परीक्षण सुरु गरे।

सोधपुछका क्रममा बिरामीले भारतमा ‘लाइकन प्लानस’ (एक प्रकारको छालाजन्य रोग) भन्दै लामो समयदेखि औषधि सेवन गरिरहेको खुल्यो। गलत औषधिको निरन्तर प्रयोगका कारण उनको छालाको समस्या झन् जटिल बन्न पुगेको थियो।

डा. प्रज्वलले पुराना सबै औषधि सेवन नगर्न भने। सुरुमा चिलाउने र दुख्ने समस्या कम गर्ने लक्षण अनुसारका सामान्य औषधि चलाए। आवश्यकता अनुसारका औषधि चलाउँदै उनले शरीरको प्रतिरोधात्मक क्षमतालाई सहज अवस्थामा ल्याउने रणनीति अपनाए। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणबाट उनमा जटिल रोग नभई ‘दाद रोग’ भएको पुष्टि भयो।

रोगको सही पहिचान भएपछि दाद रोगविरुद्धको औषधि सुरु गरियो र उनको स्वास्थ्यमा क्रमिक सुधार आउन थाल्यो। ती बिरामी करिब पाँच वर्षसम्म डा. प्रज्वलको निगरानीमा रहेर फलोअपमा रहे। तीन वर्षअघि अन्तिम पटक फलोअपमा आउँदासम्म उनको दाद करिब ९५ प्रतिशत निको भइसकेको थियो।

दादको समस्याका कारण धेरै बिरामीले अनावश्यक दुःख पाउने गरेको डा. प्रज्वलको अनुभव छ। वर्षौंदेखि दादको पीडा झेल्दै भौँतारिएका ती युवा उपचारपछि क्रमिक रूपमा निको हुँदै गएपछि चिकित्सकप्रति कृतज्ञ बनेका थिए।

छालामा दादको समस्या हुँदा चिलाउने, रातो हुने र पोल्ने गर्छ। तर, अधिकांश बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि पसलबाट जथाभाबी मलम किनेर प्रयोग गर्दा समस्या झन् बल्झिने गरेको डा. प्रज्वलको अनुभव छ। त्यसैले छालासम्बन्धी कुनै पनि समस्या देखिनासाथ विशेषज्ञ चिकित्सकको सल्लाह लिएर मात्र औषधि प्रयोग गर्न उनी सुझाव दिन्छन्।

मुखभित्र रौँ पलाएपछि...
केही वर्षअघि उपचारका लागि आएका अर्का एक युवाको उपचार गरेको प्रसंग पनि डा. प्रज्वललाई सम्झना आउने गर्छ।

मुखको क्यान्सर भएका करिब ३५ वर्षीय एक पुरुषको गिजामा शल्यक्रियापछि रौँ पलाउने समस्या देखिएको थियो। क्यान्सरको उपचारका क्रममा उनको गिजाको भागमा तिघ्राको छाला प्रत्यारोपण गरिएको थियो। सोही प्रत्यारोपित छालामा रौँ उम्रिएपछि उनलाई खानपिन गर्न कठिनाइ भइरहेको थियो।

ती बिरामीको मुखभित्र पलाएको रौँ डा. प्रज्वलको टोलीले लेजर प्रविधिको प्रयोग गरेर हटायो। उपचारपछि उनको समस्या समाधान भयो। मुखको शल्यक्रिया गर्दा शरीरका अन्य भागबाट छाला ल्याएर प्रत्यारोपण गर्दा यस्तो समस्या आउन सक्ने भएकाले थप सावधानी अपनाउनुपर्ने पाठ यस घटनाबाट मिलेको डा. प्रज्वल बताउँछन्।

जब कुष्ठरोग लागेको थाहा भयो!
केही महिनाअघि छालासम्बन्धी जटिल समस्या लिएर करिब ५६ वर्षीया एक महिला उपचारका लागि डा. प्रज्वलको सम्पर्कमा पुगिन्।

उनको पाखुराको छालामा मसिना दानाहरू देखिएका थिए भने अनुहार अस्वाभाविक रूपमा गोलो भएको थियो। लामो समयसम्म स्टेरोइडजन्य औषधिको प्रयोग गर्दा देखिने यस्तो साइडइफेक्टलाई चिकित्सकीय भाषामा ‘मुन फेसिस’ भनिन्छ।

सुरुमा उनलाई ‘एक्युट फिब्रायल न्यूट्रोफिलिक डर्माटोसिस’ अर्थात् ‘स्वीट सिन्ड्रोम’ भएको आशंकामा अन्यत्र स्टेरोइड औषधि दिइएको रहेछ। उनमा देखिएका लक्षण हेर्दा डा. प्रज्वललाई पनि यही शंका लागेको थियो। 

अचानक ज्वरो आउने तथा अनुहार, गर्दन र हात-खुट्टा दुख्न तथा राता डाबर वा फोकाहरू देखिने समस्यालाई ‘स्वीट सिन्ड्रोम’ भनिन्छ। तर, रोगको यकिन पहिचानविना लामो समय स्टेरोइड चलाउँदा बिरामीमा अनुहार गोलो हुने, शरीर कमजोर बन्ने र उच्च रक्तचापको जोखिम जस्ता समस्या थपिएका थिए।

अस्पताल भर्ना गरेर विस्तृत स्वास्थ्य परीक्षण गर्दा ती महिलामा ‘स्वीट सिन्ड्रोम’ नभई कुष्ठरोग भएको पुष्टि भयो। वास्तविक रोग पहिचान भएपछि डा. प्रज्वलले तत्काल कुष्ठरोगको औषधि उपचार सुरु गरे। बिरामी हाल उपचारकै क्रममा रहेको र उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको डा. प्रज्वलले जानकारी दिए। रोगको सही पहिचान गरी समयमै उपचार थालिएका कारण बिरामीलाई सम्भावित अंगभंग हुनबाट जोगाउन सकिएको उनले सुनाए।

सञ्चार कौशलको खाँचो
छालाजन्य कतिपय समस्या लामो समयसम्म निको नहुँदा बिरामीहरू विभिन्न चिकित्सक कहाँ धाउन बाध्य हुन्छन्। अन्यत्र उपचार गराउँदा पनि समस्या समाधान नभएर आजित भएका बिरामीहरू उनीकहाँ पनि आउने गर्छन्।

सुरुवाती दिनमा बिरामीहरू आक्रोशित वा चर्को स्वरमा प्रस्तुत हुँदा केही असहज महसुस भए पनि समयक्रमसँगै आफूले उनीहरूको मानसिक तनाव बुझेर व्यवहार गर्न थालेको डा. प्रज्वल बताउँछन्। रोगका कारण दिक्क भएर झर्किने वा ठूलो स्वरमा बोल्ने बिरामीलाई उनी सम्झाई बुझाइ गरी परामर्श दिन्छन्।

रोगको प्रकृति, कारण र उपचार प्रक्रियाबारे बिरामी तथा उनका आफन्तलाई स्पष्ट जानकारी दिनुलाई उनी विशेष प्राथमिकतामा राख्छन्। उपचार र निदानका उपायबारे सुरुमै सही परामर्श दिए बिरामीले अनावश्यक दुःख र तनाव झेल्नु नपर्ने उनको बुझाइ छ।

यसैकारण डा. प्रज्वल ‘चिकित्सक-बिरामी’ बीचको प्रभावकारी सञ्चार कलामा विशेष जोड दिन्छन्। चिकित्सकमा राम्रो सञ्चार कौशल भए परामर्शबाटै बिरामी आश्वस्त र सन्तुष्ट हुने उनको अनुभव छ। कतिपय अवस्थामा सञ्चारको कमजोरीकै कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दुर्व्यवहारसमेत भोग्नुपर्ने अवस्था आउने भएकाले यसतर्फ सचेत हुनुपर्ने उनी बताउँछन्।

शैक्षिक पृष्ठभूमि र डाक्टरी यात्रा
विसं २०३७ मा काठमाडौंमा जन्मिएका डा. प्रज्वल पाण्डेले ललितपुरको सानेपास्थित ज्ञानोदय बाल बाटिकाबाट २०५२ सालमा एसएलसी पास गरे। त्यसपछि उनले लैनचौरस्थित निस्ट कलेजबाट प्लस टुसम्मको अध्ययन पूरा गरे।

प्लस टुपछि उनले चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि प्रवेश परीक्षा दिएका थिए। तर पहिलो प्रयासमा नाम उनको निस्किन सकेन। उनले त्रिचन्द्र कलेजमा बीएस्सी पढ्न सुरु गरिसकेका थिए। अध्ययनका लागि पुनः प्रवेश परीक्षा दिइरहन मन नलागेपछि उनी करिब एक वर्षपछि बीएस्सी छाडेर चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गर्न भारतको चेन्नई पुगे। तर त्यहाँ अनुकूल वातावरण नभएपछि उनी केही महिनामै नेपाल फर्किए।

चिकित्सक बन्ने चाहना कायमै रहेकाले उनले फेरि तयारी गरे र छनोट परीक्षा उत्तीर्ण हुँदै सन् २००० मा चीनको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हेल्थ साइन्स सेन्टर’मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। त्यहाँ एक वर्ष चिनियाँ भाषाको अध्ययनसहित उनले सन् २००६ मा एमबीबीएस पूरा गरे।

त्यसलगत्तै उनले स्नातकोत्तर तह (एमडी) पनि चीनमै अध्ययन गर्ने निर्णय गरे। सोही वर्ष सांघाईस्थित ‘तोङ्ची युनिभर्सिटी’मा भर्ना भई उनले सन् २००९ मा चर्म तथा छाला रोग विषयमा एमडी अध्ययन पूरा गरे। सबै उमेर समूहका बिरामीको उपचार गर्न सकिने र शल्यक्रियासमेत संलग्न हुने भएकाले आफूले यो विषय रोजेको उनी बताउँछन्।

नेपाल फर्केर एक वर्षको इन्टर्नसिप पूरा गरेपछि उनले पोखराको एक निजी अस्पताल र गण्डकी मेडिकल कलेजमा लेक्चररका रूपमा करिब डेढ वर्ष काम गरे।

सन् २०१३ मा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘सिनियर रेजिडेन्ट’ तहमा करारमा सेवा प्रवेश गरे। पछि सेवा स्थायी भई सहायक प्राध्यापक बनेका डा. प्रज्वल हाल सोही प्रतिष्ठानको छाला तथा यौन रोग विभागमा एसोसिएट प्रोफेसरको रूपमा कार्यरत छन्।

अस्पतालमा छाला तथा यौनसम्बन्धी बिरामीको उपचार र परामर्श गर्नुका साथै चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्यापन गराउनु र खोज-अनुसन्धान गर्नु उनको मुख्य दैनिकी हो। 

असोज ३, २०८३ शनिबार १७:५०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।