ढाकामा शृङ्खलाबद्ध बम विष्फोट र आगजनी : राजधानीभर सुरक्षा व्यवस्था कडा, दर्जनौँ पक्राउ

ढाकामा शृङ्खलाबद्ध बम विष्फोट र आगजनी : राजधानीभर सुरक्षा व्यवस्था कडा, दर्जनौँ पक्राउ

एजेन्सी : बंगलादेशको राजधानी ढाकामा शनिबार साँझदेखि आइतबार बिहानसम्म शृङ्खलाबद्ध काँचका बोतल र विष्फोटक पदार्थ प्रयोग गरी बनाइएका काँचो बम (क्रूड बम/ककटेल) विष्फोट र आगजनीका घटनाहरू भएका छन्।

राजधानीका विभिन्न भागमा गुडिरहेका तथा पार्किङ गरी राखिएका यात्रुवाहक बसहरूमा आगजनी गरिनुका साथै विभिन्न चोक तथा सार्वजनिक स्थलहरूमा बम प्रहार गरिएका छन्। यी घटनाहरूमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले कडा सुरक्षा सतर्कता अपनाउँदै व्यापक धरपकड सुरु गरेको छ।

शनिबार मात्रै जत्राबारी र कमलापुर क्षेत्रमा गरी ६ वटा बम विस्फोट भएका छन् भने तीनवटा बसमा आगजनी गरिएको छ। शनिबार साँझ करिब ६:५० बजे मिरपुर-१ मा एक बसमा अज्ञात व्यक्तिले पछाडिको सिटमा आगो लगाएर फरार भएका थिए। त्यसको लगत्तै मिरपुर-११ मा अर्को बसमा आगजनी भयो। यसै गरी बड्डा-रामपुरा लिङ्क रोडमा हमिम ग्रुपको स्टाफ बस, कडमतोलीमा ठिकाना परिवहनको बस, मध्य बड्डामा अलिफ इन्टरप्राइजको बस तथा दक्षिण केरानीगञ्जमा लेगुनामा आगजनीका घटनाहरू दर्ता भएका छन्।

यसका साथै ढाकाका विभिन्न स्थानमा बम विष्फोट गराइएका छन्। जत्राबारीको समाद सुपर मार्केटअगाडि शनिबार साँझ करिब ७ः४० बजे चारवटा बम विस्फोट हुँदा एक जना रिक्सा चालक घाइते भएका छन् । त्यसको केही घण्टापछि कमलापुर रेलवे स्टेसनको प्लेटफर्म नम्बर २ को टाढाको भागमा थप दुईवटा बम विस्फोट भएका थिए । रेलवे स्टेसनमा भएको घटनामा भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

​​​​​​​मिरपुरस्थित ग्रामीण बैंक सेन्टर अगाडि मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले बम प्रहार गरेका थिए। 

विष्फोट र आगजनीका घटनालगत्तै ढाका महानगरपालिका प्रहरीले राजधानीका विभिन्न स्थानमा छापामारी गरी थुप्रै व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। पल्लवी, हातिरझिल, शाहबाग र तेजगञ्ज क्षेत्रबाट पूर्व सत्तारूढ दल अवामी लिग, जुबो लिग र स्वेच्छासेवक लिगका केही स्थानीय नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले २४ घण्टाभित्र ढाकाका विभिन्न स्थानबाट ५१५ जनालाई पक्राउ गरेको छ भने ४७ वटा मुद्दा दर्ता गरेको छ। पक्राउ परेकाहरूको साथबाट हतियार, गोलीगठ्ठा, घरेलु हतियार र लागुऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

राजधानीमा बढेको हिंसात्मक गतिविधिपछि ढाका महानगर प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ।

शहरका प्रमुख प्रवेशद्वार, ओभरब्रिज र संवेदनशील स्थानहरूमा २०० भन्दा बढी अस्थायी चेकपोष्ट स्थापना गरी सवारी साधन र पैदल यात्रीको कडा जाँच भइरहेको छ। डिटेक्टिभ ब्रान्च, काउन्टर टेरडिजम एण्ड ट्रान्सनेशनल क्राइम र सशस्त्र प्रहरी बलका टोलीहरूलाई सम्भावित तोडफोड रोक्न मैदानमा उतारिएको छ।

प्रहरीले सीसीटीभी फुटेज सङ्कलन गरी घटनामा संलग्न मोटरसाइकल र व्यक्तिहरूको पहिचान गरिरहेको छ। शुक्रबार पनि ढाका र फरिदपुरका विभिन्न स्थानमा १४ भन्दा बढी बम विष्फोट र आगजनीका घटनाहरू भएका थिए। लगातार दोस्रो दिन पनि हिंसा दोहोरिएपछि सुरक्षा निकायहरूलाई देशभर उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

लगातार भएका विस्फोट र आगजनीका घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। पछिल्ला दुई दिनमा राजधानीका विभिन्न स्थानमा विस्फोट र सार्वजनिक यातायातमा आगजनीका घटना दोहोरिएपछि ढाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।

असोज ४, २०८३ आइतबार ११:१०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।