विपद्‌लाई 'अकल्पनीय' भनेर जिम्मेवारीबाट पन्छाउन मिल्दैन : पूर्वराष्ट्रपति भण्डारी

विपद्‌लाई 'अकल्पनीय' भनेर जिम्मेवारीबाट पन्छाउन मिल्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै दृष्टिले अत्यन्तै संवेदनशील स्थितिमा रहेकाले प्राकृतिक विपद्‌लाई 'अकल्पनीय' भन्दै पन्छाउन नमिल्ने बताएकी छन्।

'हिमाल, जलवायु र विपद्' विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले रसुवागढीको हालैको घटनाले हिमाली क्षेत्रको जोखिमबारे गम्भीर अध्ययन र पूर्वतयारीको टड्कारो आवश्यकता उजागर गरेको उल्लेख गरिन्।

विशाल जनसङ्ख्या र द्रुत विकास भइरहेका दुई ठूला छिमेकी राष्ट्रहरूको बीचमा नेपाल रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, "हामी भौगोलिक रूपमा मात्र नभई राजनीतिक रूपमा पनि संवेदनशील क्षेत्रमा छौँ। त्यसैले प्राकृतिक विपद् र विकासका समस्याहरूको दीर्घकालीन समाधानका लागि राष्ट्रिय एकताका साथ साझा एजेन्डा बनाउनुपर्छ।"

भण्डारीले नेपालका प्राकृतिक विपद् तथा विकाससम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रिय भावना र राष्ट्रिय एकताका आधारमा साझा एजेन्डा तय गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नदी तथा जलस्रोत व्यवस्थापनमा विभिन्न सरकारी निकायले आ–आफ्नो क्षेत्रको जिम्मेवारी लिने गरे पनि नदीको प्राकृतिक बहाव र क्षेत्र संरक्षणमा पर्याप्त ध्यान नदिइएको बताइन्। जनसङ्ख्या तथा वातावरणमन्त्री भएका बेला आफूले नदीका लागि आवश्यक क्षेत्र निर्धारण गर्नुपर्ने विषय उठाएको स्मरण गर्दै उनले नदीको दायाँ–बायाँ आवश्यक भूभाग स्पष्ट रूपमा छुट्याउनुपर्ने बताइन् ।

‘नदीलाई पनि ठाउँ चाहिन्छ। सरकारले नदीको क्षेत्र छुट्याइदिएर स्पष्ट सीमा निर्धारण गरिदिए मान्छेले त्यहाँ जबर्जस्ती घर बनाउने अवस्था कम हुन्छ,’ उनले भनिन्।

भण्डारीले बागमतीलगायतका नदीको संरक्षणका लागि नदीको प्राकृतिक क्षेत्र निर्धारण गरी त्यसको कार्यान्वयन गर्नुपर्ने बताइन्। उनले हिन्दुकुश हिमालय क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका संस्थाले तयार गरेका अध्ययनलाई नीति निर्माण र कार्यान्वयनमा जोड्नुपर्ने बताइन्।

‘अध्ययन गरेपछि त्यसलाई लागू गर्नुपर्यो,’ उनले भनिन्, ‘संस्थाहरू नभएका होइनन्, छन् । तर अध्ययन र संस्थागत संरचनाको परिणाम व्यवहारमा देखिनुपर्छ।’

भण्डारीले प्राकृतिक विपद्, जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयलाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

असोज ३, २०८३ शनिबार १७:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।